काठमाडौं, १ असोज । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नागरिकहरुबाट निर्वाचित सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार स्थापित गरिएको टिप्पणी गरेका छन् । आज (बुधबार) जलेर ध्वस्त भएको पार्टी कार्यालयको निरीक्षणमा पुगेका बादलले संसद् विघटन र अन्तरिम सरकार गठनलाई असंवैधानिक कदम भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नागरिकबाट निर्वाचित सरकारलाई अपदस्थ गरी संसद् विघटन पनि गरिएको भन्दै उनले आपत्ति जनाए ।
उनले भने, अहिले यो लोकतन्त्रलाई जसरी अपदस्थ गरिएको छ, नागरिक सर्वोच्चताको प्रतीक भनेको चाहिँ संसद् हो । संसद्लाई विघटन गरिएको छ । नागरिकहरुले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरिएको छ, विघटन गरिएको छ । अहिले अनागरिक सरकार स्थापित गरिएको छ । यो असंवैधानिक कदमहरुको हाम्रो पार्टीले विरोध गरिराखेको छ ।’
साथै, उनले नेकपा (माओवादी केन्द्र) सहित विचार र राजनीतिक कार्यदिशा मिल्ने सबै वामपन्थी दलहरु एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए । उनले आफ्नो पार्टी एमालेको नीति पनि वामपन्थी एकता नै हरेको बताए । नेता बादलले भने, ‘वामपन्थीहरुको ध्रुवीकरण हुनुपर्छ । माओवादीमात्रै होइन, विचार मिल्ने, राजनीतिक कार्यदिशा मिल्ने, सबै वामपन्थी दलहरु एकतावद्ध हुनुपर्छ भन्ने पार्टीको नीति रहँदै आएको छ ।’
नेता बादलले पार्टीको बैठक बसेर अहिले भइरहेको सबै परिघटनाहरुको गम्भीर रुपमा समीक्षा हुने पनि बताए ।




प्रतिक्रिया