काठमाडौं, १ असोज । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी थिईन् ।
‘प्रधानमन्त्री, मन्त्री र मुख्यसचिव बीच बालुवाटारमा बैठक भयो । मन्त्रीहरुको लागि उपयुक्त पात्रका बारेमा छलफल भएको छ । भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको छ,’– बालुवाटार स्रोतले भन्यो ।
बालुवाटार स्रोतका अनुसार बाँकी ७ मन्त्री नियुक्तिबारे विभिन्न व्यक्तिहरुको नाममा छलफल भएको छ । राजनीतिक दलप्रति आस्था नराख्ने, निष्पक्ष र स्वतन्त्र व्यक्तिहरुलाई मन्त्री बनाउने तयारी रहेको बताइएको छ । प्रधानमन्त्री कार्कीले यसअघि रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिचाईँसहित ३ मन्त्रालय र ओमप्रकाश अर्याललाई गृहसहित २ मन्त्रालयको जिम्मेवारी दिएकी थिईन् ।
नेपालको संविधानको धारा ७६ (९) मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधानमन्त्रीसहित बढीमा पच्चीस जना मन्त्री रहेकोमन्त्रिपरिषद गठन गर्ने सक्ने व्यवस्था रहेको छ । तर, प्रधानमन्त्री कार्कीले भने सानो आकारको ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी थालेकी छन् ।
मन्त्री बन्ने सम्भावित पात्रहरुमा डा.भगवान कोइराला, क्रिकेटर पारस खड्का, प्रा.डा. जयराज आचार्य, मधुरमण आचार्य, लिली थापा, मोहना अन्सारीलगायतको चर्चा भइरहेको छ । यसअघि चर्चामा आएका संविधानविद् डा.भीमार्जुन आचार्य र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतले भने आफूहरु मन्त्रिपरिषद्मा नजाने बताइसकेका छन् ।




प्रतिक्रिया