तरुण अध्यक्ष गुरुङद्वारा सभापति देउवासहित पार्टीका नेताहरुको जलेको घर निरीक्षण


काठमाडौं, १ असोज । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पार्टी सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रकासमान सिंह, दिपक खड्काको निवासको अवलोकन गरेका छन् । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा देउवा, सिटौला, भण्डारी, सिंहलगायतको निवासमा तोडफोड र आगजनी भएको थियो ।

अवलोकनका क्रममा तरुण दल केन्द्रीय सदस्यहरु ,आम तरुण युवाहरु साथमा रहेका थिए । अध्यक्ष गुरुङले आन्दोलनको क्रममा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । विषम परिस्थितिमा सम्पूर्ण तरुणहरु धैर्य गर्दै एक आपसमा एकतासहित अघि बढ्नुपर्ने आजको आवस्यकता रहेको उनले बताए ।

वर्तमान सरकारलाई जेन–जी पुस्ताले राखेको मागमा ध्यान दिन र समयमै निर्वाचन सम्पन्न गर्न अध्यक्ष गुरुङले ध्यानाकर्षण गराए । आन्दोलन हिंसात्मक हुन नदिन र घुसपैठ हुन सक्ने कुरामा ध्यान दिन अध्यक्ष गुरुङले आन्दोलनको अघिल्लो दिननै विज्ञप्तिमार्फत सचेत गराएका थिए ।

अवलोकन क्रममा अध्यक्ष गुरुङले पार्टी सभापति देउवा र डा.आरजु राणा देउवा उपचारको क्रममा रहेको भन्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरे ।