सिंहदरबार जलिरहँदा काठमाडौं महानगरले दमकल पठाएन भन्ने कुरा गलत होः महानगर प्रहरी प्रमुख पाण्डे


काठमाडौं, २ असोज । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा दमकल नपठाएको भन्ने कुरा गलत रहेको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गरी उनले महानगरले आगलागी नियन्त्रणका लागि सक्दो प्रयास गरेको बताएका हुन् । उनले आफूहरुले सुरक्षाको प्रत्याभूतिको आधारमा बाटो क्लियर होस् भनेर केही समय पर्खिएको स्वीकार गरे महानगर प्रहरी प्रमुख पाण्डेले दमकलमात्रै नभएर विभिन्न हस्पिटलमा रहेका घाइतेहरुको उपचार र खानपिनको व्यवस्थालगायत कुरामा कुनै समस्या नहोस् भन्ने हिसाबले आफूहरु खटिएको बताए ।

‘महानगरले दमकल पठाएन भन्ने कुरा चाहिँ यो गलत कुरा हो । हामीले सुरक्षाको प्रत्याभूतिको आधारमा, दमकल आफैं सुरक्षित हुनुपर्छ र बाटो क्लियर होस् भन्ने हिसाबले चाहिँ हामीले पर्खिएका थियौं । नेपाली सेनासँग पटक–पटक समन्वय गरेर हामीले दमकल परिचालन गरेको हो । दमकलमात्रै होइन कि विभिन्न हस्पिटलमा रहेका घाइतेहरुको उपचार, उहाँहरुलाई खानपिनको व्यवस्था लगायत कुरामा पनि हाम्रो प्रहरी राखेका थियौं । कुनै समस्या नहोस् भन्ने हिसाबले हाम्रो प्रहरी खटिइएका थिए,’– उनले भने ।

उनले सिंहदरबारमा महानगरले पाँचवटा दमकल परिचालन गरेको पनि जानकारी गराए । सिंहदरबार र अदालत साझा सम्पत्ति भएकाले आफूहरुको प्राथमिकतामा परेको पनि उनले बताए । सिभिल अस्पताल, मोडेल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङलगायतका अस्पतालमा विरामीको लागि रगतको अभाव नहोस् भनेर पनि आफूहरुले प्रहरी पठाएको उनले बताए ।