काठमाडौं, २ असोज । नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले प्रधानसेनापति र जेर्नेल, कर्नेलको बुद्धिमत्ताले जेन–जी आन्दोलनले अस्थायी रुपमा सहजता पाएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कतिपय मान्छेहरुले सेनाले सिंहदरबार बचाएन, सर्वोच्च अदालत बचाएन भनेर पनि सेनाले बुद्धिमत्ता तरिकाले आफ्नो गोलीबाट एकथोपा पनि रगत ननिकालेको बताए । विषम परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलले सेनालाई केही आदेश दिन नसकेको उनले बताए । उनीहरु मेरो ज्यान बचाइदेऊ भनेर भागेको उनले आरोप लगाए ।
‘नेपाली सेनाले यस्तो बुद्धि पुर्यायो कि सेनाको गोलीबाट एकथोपा रगत ननिस्किएर जेन–जी आन्दोलनले अस्थायी सहजता पायो । यदि प्रधानसेनापति, जर्नेल, कर्नेलसाबहरुले अलिकतिमात्रै पनि बन्दुकेपन देखाएको भए यहाँ सयौं मान्छे मर्थे । यहाँ कति मान्छेहरुले यो बचाएन, त्यो बचाएन भने । राजीनामा दिएका प्रधानमन्त्री अर्को प्रधानमन्त्री नहुन्जेल ऊ प्रधानमन्त्री थिए । ऊ आफू ज्यान जोगाएर भागेपछि केही बोलेनन् । अर्को कुरा राष्ट्रपति देशको अभिभावकले किन चुइँक्क बोलेनन् ? मलाई ज्यान बचाइदेऊ, म जेमा पनि लेख्न तयार छु भनेर केही बोल्नुभयो उहाँले ? केही आदेश दिनुभयो ? सेनाको परिचालन र अरु सुरक्षा फैजाको परिचालनमा धेरै फरक छ । त्यो सिंहदरबार, शीलत निवास मेरो, तपाईँको पनि सम्पत्तिले बनेको हो । बुद्धिमत्तापूर्ण तरिकाले सेनाले रगत बचायो,’– उनले भने ।
साथै, उनले जेन–जी आन्दोलनको क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले युनिफर्म र हतियार फालेकोप्रति उनले आपत्ति जनाए । उनले प्रहरीले हातहतियार र युनिफर्म फालेर भाग्नुलाई अनुशासन मान्न नसकिने बताए । नेपाली सेनामा त्यस्तो गरेको खण्डमा कोर्ट मार्शलले गोली हान्ने उनले बताए । हतियार र युनिफर्म फालेको प्रकरणमा नेपाल प्रहरीका आईजीपी चन्द्र कुबेर खापुङलाई कारबाही गरिनुपर्ने उनले बताए । ‘हातहतियार फालेर नेपाल प्रहरीका आईजीपीका फौजहरु भाग्ने अनुशासन कुन देशमा छ ? जनपद प्रहरीको आईजीपीलाई ल्याएर कारबाही किन नगर्ने ? फ्रन्टको जिम्मा लिने त उनीहरु हुन् नि त । सशस्त्र प्रहरीले, जनपद प्रहरीले हतियार फाल्न पाइन्छ ? सेनाको भए कोर्ट मार्शललले झुण्ड्याउँछ, गोली हान्छ । युनिफर्म फालेर, बन्दुक फालेर, के परिस्थिति थियो ?’ प्रश्न गर्दै उनले भने । File Photo/RN




प्रतिक्रिया