काठमाडौं, २ असोज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीको पुनर्गठनको लागि भन्दै विशेष महाधिवेशनको माग गरेका छन् । अहिलेको कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमनजस्ता विविध मागहरु आइरहेको उल्लेख गर्दै उनले पार्टी विधानको धारा १७ अनुसार विशेष महाधिवेशनको माग गरेका हुन् ।
‘पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा (२) बमोजिम केन्द्रीय कार्यसमितिले आबश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ । भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु,’– उनले भनेका छन् ।
साथै, उनले प्रदर्शनका क्रममा घुसपैठ गरी पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि सांघातिक हमला भएको भन्दै भर्त्सना गरेका छन् । उनले देउवा दम्पत्तिको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । विषम परिस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले सुझबुझपूर्ण पहलकदमी लिएको भन्दै उनले आभार प्रकट गरेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आइनै सकेको सन्दर्भ उल्लेख गर्दै उनले अब यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको आगामी रणनीतिबारे आम नेपाली जनतासमक्ष ओैपचारिक धारणा सार्वजनिक गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।
संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत देशैभरिका सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि एक राष्ट्रिय विपद् कोष निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल गर्नसमेत उनले आग्रह गरेका छन् । कांग्रेसले यो संकटको अवस्थामा पार्टी केन्द्रीय कार्यालय, देशैभरिका पार्टीका ध्वस्त भएका संरचनाका साथै सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यका लागि ‘एक–एक मुठीदान नेपाली कांग्रेस राष्ट्र निर्माणको अभियान’ सञ्चालन गर्न ढिला गर्न नहुने उनको भनाइ छ ।




प्रतिक्रिया