संसद् विघटन नगरी निकास खोज्न नसकिएकोप्रति सभामुख घिमिरे दुःखी


काठमाडौं, २ असोज । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी त्यसैबाट निकास खोज्न नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् । संसद् भवन अनुगमनका लागि पुगेका सभामुख घिमिरेले जेन–जी आन्दोलनका क्रममा भएको घटना र संसद् विघटन दुवै ज्यादै दुःखद् रहेको बताएका हुन् । उनले अहिलेको विषयम परिस्थितिबाट उठेर ठीक ढंगबाट अगाडि जानु अहिले सबैको दायित्व हुन आउने पनि बताए ।

‘जे घटना देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुरा हो । यसबाट उठेर ठीक ढंगबाट अगाडि जानु सबैको दायित्व हो,’– उनले भने ।

साथै, उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको बताए । अहिलेको विषम परिस्थितिमा देखापरेको चुनौतिहरुलाई समाधान गर्नेगरी सरकार अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएको कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए । यस घटनाको समीक्षा गर्दै देशलाई माथि उठाउनका लागि आम नागरिक लागिपर्नुपर्ने उनको भनाइ छ ।