काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको बताएका छन् । संविधान दिवसको पूर्व सन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास भइरहेको बताएका हुन् । माओवादीले घोषित मितिमै चुनाव होस् भन्ने चाहेको पनि उनले बताएका छन् । उनले देशभक्त र लोकतन्त्रवादी शक्तिहरुका लागि अबका दिनहरु निरन्तर चुनौतीपूर्ण हुने र माओवादीको स्पष्ट मत संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्किदा थप संकटमा पुगिने रहेको छ ।
‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमैं सम्पन्न होस् भन्ने चाहन्छौं,’– उनले भनेका छन् ।
इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेको प्रचण्डको निष्कर्ष छ । त्यसका लागि सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खाँचो रहेको पनि प्रचण्डले उल्लेख गरेका छन् । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र रहेको पनि उनले स्मरण गराएका छन् ।




प्रतिक्रिया