काठमाडौं, २ असोज । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । यही भदौ २३ र २४ गते नेपालका जेन-जी पुस्ताले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनको क्रममा ज्यान गुमाएका सबैप्रति सभापति देउवाले गहिरो दुःखसमेत व्यक्त गरेका छन् । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
जेन-जीको आन्दोलनलाई धमिलो बनाई आ आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहरुले २४ गते विहानैदेखि अकल्पनीय ढंगको आतंक सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय, नेताहरुको निजी निवास आक्रमण गर्नेजस्ता अपराधिक क्रियाकलाप भएकोप्रति पनि देउवाको सचिवालयले भत्र्सना गरेको छ । भदौ २४ गते डकैतीको शैलीमा सभापति देउवाको निवासमा प्रवेश गरेर सभापति देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवालगायतमाथि सांघातिक आक्रमण भएको पनि सचिवायले उल्लेख गरेको छ ।
सभापतिमाथिको सांघातिक आक्रमणपछि पनि पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरुमा देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरु निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको सचिवालयले स्पष्ट पारेको छ । सामाजिक सञ्जालहरुमा देखाईएका दृष्यहरु कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनसायले बदनाम गर्ने उद्देश्यले फैलाईएका भ्रामक समाचार भनेको छ । देउवाको तर्फबाट स्वकिय सचिव भानु देउवाले आज विज्ञप्ती निकालेका हुन् ।





प्रतिक्रिया