अदालतले प्रतिनिधिसभा पूनःस्थापना गर्ने बलिया आधार देख्छु, संविधानका केही धारामा मात्रै ग्रहण लागेको छ : बरिष्ठ अधिवक्ता टिकाराम भट्टराई


काठमाडौं, ४ असोज । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिपछि संविधान बचेको भएपनि संविधानका केही धारामा ग्रहण लागेको टिप्पणी गरेका छन् । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संविधानको धारा ७५, ७६, ७७ र १३२ मा ग्रहण लागेको बताए ।

उनले भने,‘अहिले यी धारामा ग्रहण लागेको छ, ग्रहण भन्नेबित्तिकै हामी बुझिहाल्छौं कि त्यो अस्थायी हुन्छ । सूर्यग्रहण वा चन्द्रग्रहणमा जसरी त्यसले क्षणिक रुपमा त्यसले प्रकाश दिन बन्द गर्छ, त्यसैगरि अहिले प्रकाश रोकिएको छ संविधानका ती धाराहरुमा, त्यो ग्रहण हट्नेबित्तिकै ती धाराहरुले पूर्ववत् रुपमा आफ्नो काम गर्छन् । प्रकाश छर्छन् । अहिले समग्र संविधानमा होईन, संविधानका केही धारामा ग्रहण लागेको छ।’

संविधानका उल्लेखित धारामा लागेको ग्रहण हट्नको लागि तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्दा बलियो र सुरक्षित अनि लोकतान्त्रिक आधार रहेको भट्टराईको भनाई छ । घोषित मितिमा निर्वाचन हुन नसक्ने वातावरण बन्यो भने राजनीतिक दलहरुले प्रतिनिधिसभा पूनःस्थार्पनाको लागि दलहरुले आन्दोलन गर्ने र आन्दोलनको बलमा विगतमाजस्तै प्रतिनिधिसभाको पूनःस्थापना हुने सम्भावना पनि सुझाए ।

उनले भने,‘मैले विगतमाजस्तै भनेको २०५९ सालमा असोज १८ गते शेरबहादुर देउवाले विघटन गरेको प्रतिनिधिसभाको नै पछि पूनःस्थापना भएको थियो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले नै पाँच–छ वर्षपछि त्यसलाई पूनःस्थापना गरेको थियो । दोस्रो बाटो भनेको आन्दोलनको हो । तेस्रो बाटो भनेको कथमकदाचित यो विषयले अदालतमा प्रवेश पायो भने अदालतले प्रतिनिधिसभा पूनःस्थापना गर्ने बलिया आधारहरु म देख्छु । विगतका नजिर र सिद्धान्तको आधारमा र संविधानका धाराहरुको आधारमा त्यो देखिन्छ ।’ संविधानलाई लिकमा ल्याउनुपर्नेमा उनको जोड थियो ।