संविधानमा तत्काल गर्नुपर्ने सुधार भन्दै आजपाले अघि सार्यो १६ बुँदे प्रस्ताव


काठमाडौं, ५ असोज । आम जनता पार्टीले संविधानमा तत्काल सुधार गर्नुपर्ने औंल्याएको छ । पार्टीको हिजो (शनिबार) बसेको केन्द्रीय कमिटीको बैठकमा संविधानमा तत्काल गरिनुपर्ने सुधारमा प्रधानमन्त्री र मुख्यमन्त्रीको छनौट प्रत्यक्ष निर्वाचनद्वारा गरिनुपर्ने उल्लेख गरिएको छ ।

आजपाले संविधानमा सुधार गरेर प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको छनौट पूर्ण समानुपातिक निर्वाचनद्वारा गरिनुपर्ने मत राखेको छ । आजपाले संविधानमा सुधार गर्नुपर्ने भनेर अघि सारेका विषयहरुमा पालिकाको संख्या घटाउने र बजेट बढाउने, स्थानीय तहमा कानून बनाउने र कर लगाउने अधिकार हटाउने, पार्टीलाई निर्वाचित संस्थाभन्दा माथि राख्ने प्रावधान खारेज गर्ने, विदेशीलाई नागरिकता दिने प्रावधान अर्थात् गैरआवासीय नागरिकता खारेज गर्ने भनेको छ ।

प्रदेशलाई पहिचान एवं अधिकार सम्पन्न बनाउने, शासकको समानुपातिक अधिकार खारेज गर्ने, केन्द्रमा रहेका अनावश्यक संवैधानिक आयोगहरु खारेज गरिनुपर्ने आजपाको प्रस्ताव छ । यस्तै, अनावश्यक संवैधानिक आयोगहरु हटाउने, नेपालका सम्पूर्ण भाषा र संस्कृतिलाई समान हैसियत कायम गर्ने, जिडिपीको २० प्रतिशत भन्दा बढि कर लगाउन नपाईने पनि आजपाको मत छ ।

देशको पुँजी विदेशमा लैजान रोक लगाउने, भ्रष्टाचारमाथि जनताको निगरानीको प्रावधान राख्ने, राईट टु रिकलको प्रावधान राख्ने र न्यायलयलाई स्वतन्त्र, पारदर्शी एवं जनउत्तरदायी बनाउनुपर्ने आजपाको सुझाव छ ।