मुग्लिन-नारायणगढ सडकखण्डमा आज पनि समस्या, रोकिएन पहिरो


काठमाडौं, ६ असोज । गएरातिदेखि भर बन्द मुग्लिन-नारायणगढ सडक खण्ड आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गए राति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो । पहिरोका कारण शुक्रवार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्रै एकतर्फी सञ्चालनमा आएको हो ।

सोमबार साँझ ८ बजे पुनः खसेको पहिरो राति नै पन्छ्याएपछि दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन् । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् । सडक दुईतर्फी सञ्चालन नहुञ्जेलसम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।