शक्तिपीठमा दर्शनार्थीको घुइँचो


काठमाडौं, असोज ६ । नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन् ।

घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो । गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्रि देवी दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादसैंको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैंघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुति पाठ गरिन्छ ।