काठमाडौं, ६ असोज । जेन–जी आन्दोलनसँगै विभिन्न राजनीतिक दलमा नेतृत्व हस्तान्तरणको बहस सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) ले त आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी थालेको बताइएको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार सबै कमिटी विघटन गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा निर्वाचन कमिटी गठन गरेर अगाडि बढ्ने तयारी भइरहेको छ ।
त्यस्तै, नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको मागबाट नेपाली कांग्रेस पनि अछुतो छैन । कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापालगायतले पार्टीमा विशेष महाधिवेशन हुनुपर्ने र सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग उठाइरहेका छन् । कांग्रेस सभापति देउवा हाल उपचाररत छन् । जेन–जी आन्दोलनको क्रममा देउवा र उनकी श्रीमती डा.आरजु राणा देउवामाथि आक्रमण भएको थियो । सो आक्रमणमा देउवालाई गम्भीर चोट लागेको बताइएको छ ।
पार्टीमा विशेष महाधिवेशनको माग बढेपछि आरजुले भने सक्रियता देखाएकी छिन् । आन्दोलनको क्रममा घाइते भएकी आरजु राणा अहिले पनि उपचाररत रहेको बताइएको छ । उनले अस्पतालको बेडबाटै विशेष महाधिवेशनको माग गर्नेहरुसँग अन्तर्क्रिया बढाएकी छन् । उनले अहिलेको विषम परिस्थितिमा विशेष महाधिवेशनको माग नगरिदिन भन्दै विभिन्न नेताहरुलाई अस्पतालको बेडबाटै फोन गरेको स्रोतको दाबी छ ।
नेपाली कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन बोलाउनसक्ने प्रावधान रहेको छ । महामन्त्रीद्वय शर्मा र थापाले विधानको सोही व्यवस्थालाई देखाउँदै विशेष महाधिवेशनको लागि दवाब दिइरहेका छन् । कांग्रेस नियमित महाधिवेशनमा जाने हो भने २०८३ असारमा हुनुपर्छ । त्यसमा पनि सभापतिले ६ महिना म्याद थप गर्न सकिने र विषम परिस्थिति आइपरे अर्को ६ महिना गरी १ वर्ष म्याद थप गर्न सकिने व्यवस्था रहेको छ ।
देउवाको यो दोस्रो कार्यकाल हो । विधानतः अब उनी तेस्रो कार्यकालको लागि सभापतिमा उठ्न पाउँदैनन् । म्याद थप गरेर कार्यकाल एक वर्ष लम्ब्याउने दाउमा रहेका देउवालाई विशेष महाधिवेशनको मागले दवाबमा पारेको छ ।




प्रतिक्रिया