व्यवस्था परिवर्तनका लागि छठपछि आन्दोलनमा जाने आजपाको निर्णय


काठमाडौं, ६ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले प्रदेशको नेतृत्व हेरफेर गर्दै व्यवस्था परिवर्तनका लागि जनदवाबसहित निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा ४ असोजमा केन्द्रीय कमिटी र ५ असोजमा बसेको पदाधिकारी बैठकले गरेको निर्णय आज (सोमबार) सार्वजनिक गर्दै आजपा प्रवक्ता चन्द्रभुषण साहले प्रदेशको नेतृत्व हेरफेर सहित व्यवस्था परिवर्तका लागि जनदवाबसहित निर्वाचनमा सहभागी हुने जनाएका छन् ।

बैठकले प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज एवं अध्यक्षको जिम्मेवारी हेरफेर गरेको छ । कोशी प्रदेशको इन्चार्जमा तिलक थापा मगर, सहइन्चार्जमा जुरीलाल मोची, अध्यक्षमा खगेन्द्र भण्डारी, मधेस प्रदेशको इन्चार्जमा त्रिभुवन साह, सहइन्चार्जमा श्रीचन मुखिया, अध्यक्षमा उमेश कुशवाहा, उपत्यका विशेष कमिटीको इन्चार्जमा चन्द्रभुषण साह, अध्यक्षमा देवी पण्डित रेग्मी रहेका छन् ।

यसैगरी, सुदुरपश्चिम प्रदेशको इन्चार्जमा सुमिना हुसेन, अध्यक्षमा राम विष्ट, बागमती प्रदेशको इन्चार्जमा धनकुमारी मगर, सहइन्चार्जमा देवी पण्डित रेग्मी र अध्यक्षमा पासाङ तामाङ, गण्डकी प्रदेशको इन्चार्जमा तिलक थापा मगर र अध्यक्षमा भोजराज त्रिपाठी, लुम्बिनी प्रदेशको इन्चार्जमा त्रिभुवन साह र अध्यक्ष बिजय यादव र कर्णाली प्रदेशको इन्चार्जमा समिना हुसेन तथा अध्यक्ष आशा संजेल रहेका छन् ।

आजपा प्रवक्ता साहले व्यवस्था परिवर्तनका लागि पार्टी छठपछि आन्दोलनमा उत्रिने निर्णय भएको बताए। दशैं, दिपावली, छठ पर्वसम्म पार्टीको प्रदेश, जिल्ला, पालिका कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन, शुभकामना अदानप्रदानलगायतका गतिविधि गर्ने र चाडपर्व सकिएपछि आन्दोलनमा उत्रिने निर्णय आजपाले गरेको हो ।

‘दशैं, दिपावली, छठपर्वसम्म हामीले शुभकामना कार्यक्रम सहित बिभिन्न कमिटीको बैठक, भेला, कमिटी गठन, पुनर्गठन गर्दै अगाडी बढनेछौं । केन्द्रीय कमिटी पुनर्गठन गरेका छौं, अब प्रदेश, जिल्ला कमिटीहरु पुनर्गठन गर्दै छठपर्वपछि हामी व्यवस्था परिवर्तनका लागि आन्दोलन सहित निर्वाचनमा सहभागि हुने निर्णय गरेका छौं,’ प्रवक्ता साहले भने, ‘पार्टी केन्द्र, प्रदेश तथा जिल्ला कमिटीहरुलाई पूर्नगठन गर्दै सिस्टम सुधारका लागि जनदवाव अभियान सहित निर्वाचनमा सहभागी हुने निर्णय गरिएको छ ।’

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं, राष्ट्रिय स्वाधिनता बचाउन संघर्ष गरौं’ भन्ने मुल नारासहित बैठकमा अध्यक्ष साहले पेश गरेका समसामयिक एवं राजनीतिक प्रतिवेदन बैठकले सर्वसम्मतीले पारित गरेको छ ।

‘हाम्रो आजपाद्वारा झण्डै दुइ वर्ष अगाड़ी दलाल दलतन्त्र विरुद्ध जारी तेस्रो जनआन्दोलनको जगमा हालै भएको जेन जी युवा पुस्ताको अगुवाईमा भएको जनविद्रोहले देशको संसद, सरकार र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरी उहीं तिरस्कृत नेताहरुको संयोजन एवं सहमतिमा केवल नेतृत्वको मुखौटा परिवर्तनमा सिमित गरिनु जेन जी आन्दोलनप्रतिको धोका एवं सडकमार्फत मुखारित ताजा जनादेश समेतको अपमान भएको ठहर सहित सिस्टम सुधारका लागि जनदबाब सहितको संघर्ष र बाँकी कार्यभार पुरा गर्न थप शशक्त रूपमा अघि बढ्ने निर्णय गरिएको छ,’ आजपाले गरेको निर्णयमा भनिएको छ ।

यस्तै, संविधानमा तत्काल सुधार गर्नुपर्ने महत्वपूर्ण विषयवस्तुलाई समेटेर आजपाद्वारा तयार पारिएको १६ बुँदे प्रस्ताव जनताका बीचमा लैजाने निर्णय समेत बैठकले गरेको छ । आम जनताद्धारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था संविधानमा तत्काल सुधार गर्नुपर्ने लगायतका १६ मुद्धा आजपाले सार्वजनिक गरेको छ ।

‘गलत व्यवस्थाका कारण राष्ट्रिय स्वाधिनता, अर्थतन्त्र एवं जनताको वास्तविक लोकतन्त्र संकटमा पर्दै गएको सन्दर्भमा पार्टीद्वारा जारी जनसंघर्ष एवं तेस्रो जनआन्दोलनको मुद्दाहरुलाई थप शशक्त, प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ,’ बैठक पश्चात जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसैगरी, बैठकले जेन–जी आन्दोलनको क्रममा भएको अबोध युवा विद्यार्थीको हत्या, ऐतिहासिक धरोहर, सम्पदा र सम्पतिहरूको तेडफोड, आगजनी एवं विध्वंशप्रति दुःख व्यक्त गर्दै यस अपराधमा संलग्न निवर्तमान सरकार, जिम्मेवार सुरक्षा निकाय र घटनामा प्रत्यक्ष संलग्न अपराधीहरुलाई तथ्य र प्रमाणका आधारमा दण्डित गर्नपर्ने माग गरेको छ ।

विचार र सिद्धान्त मिल्नेसंग एकताका लागि वार्ता समिति गठन

यसैगरी, आजपाले विचार र सिद्धान्त मिल्ने विभिन्न लोकप्रिय व्यक्ति, समुह, संगठन एवं पार्टीसंग एकता र सहकार्य गर्ने निर्णय गरेको छ । त्यसका लागि बैठकले सहअध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगरको नेतृत्वमा चन्द्रभुषण साह, सुभाष साह, बिजय यादव, राम विष्ट सदस्य रहने गरी वार्ता समिति गठन गरिएको छ । File Photo/RN