काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका महासमिति सदस्य डा.सुनिलकुमार शर्माले राजनीतिक नेतृत्व र दलहरुमाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै उनले चेतावनीस्वरुप भनेका छन्, ‘समयमै राजनीतिक दल र नेताहरुले सुझबुझका साथ आफ्ना गल्ती र राजनीतिक अपराधहरुको आत्मसमिक्षा गरेर सुधार नगरे फेरी अर्को ठूलो जनविद्रोह हुनेछ।’
उनले भनेका छन्, ‘समयमा नै राजनैतिक दलहरु र नेताहरुले सुझबुझ सहित आफुले गरेका गल्ती र कैयौं राजनैतिक अपराधिकरणलाई आत्मसमिक्षा गरी नसच्याउने हो भने, सच्याउन तयार नहुने हो भने र जेन्जी आन्दोलनको उपलव्धीलाई शुन्य बनाउन षडयन्त्रका तानाबुना बुनिरहने हो भने भविष्यमा यो भन्दा ठूलो विद्रोह हुने निश्चित छ ।’
शर्माले जेन–जी आन्दोलनलाई केवल युवाको आन्दोलन नभई आम जनताको आन्दोलनका रूपमा बुझ्नुपर्ने भन्दै प्रत्यक्ष कार्यकारीको निर्वाचन, कार्यकाल सीमा, पार्टी नेतृत्वमा समयसीमा, महाधिवेशनको अनिवार्यता, न्यायालयमा कुनै पनि राजनीतिक नियुक्ति नहोस् भन्ने माग गर्दै यसको लागि लोक सेवा आयोग सरहको स्वायत्त निकाय गठन गर्नुपर्ने, एनआरएनलाई अधिकार सुनिश्चित गर्ने, विपन्न परिवारलाई १ प्रतिशत ब्याजदरमा शिक्षाका लागि सफ्ट लोन उपलब्ध गराउने तथा १० लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा जस्ता आधारभूत आवश्यकतालाई संविधानमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भनेका छन्, ‘त्यसैले जेन्जी युवाहरुको आन्दोलनलाई आम जनताको आन्दोलन मानेर प्रत्यक्ष कार्यकारीको निर्वाचन, एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा हुन नपाउने, एउटै निर्वाचन क्षेत्रबाट कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी सांसद हुन नपाउने, दुई कार्यकाल बीचमा अनिवार्य अन्तराल हुनु पर्ने, दुई कार्यकाल भन्दा बढी कोही पनि व्यक्ति पार्टी सभापति÷अध्यक्ष बन्न नपाउने, ४ वर्षमा दलहरूको अनिवार्य महाधिवेसन हुनु पर्ने, जिविकोपार्जनको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई (एनआरएन) राजनैतिक अधिकार बाहेक अन्य अधिकारहरू सुनिस्चित गर्ने साथै आर्थिकरुपमा विपन्न आमाबुबाहरुलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षामा अध्ययनअध्यापन गराउन सहजरुपमा १ प्रतिशत व्याजदरमा सफ्ट लोन लिन पाउने व्यवस्था गर्ने र १० लाख सम्मको निः शुल्क स्वास्थ्य बीमा हुनु पर्नेजस्ता आम जनताका आधारभूत आवश्यकताहरुलाई सम्बोधन गर्ने कार्य संविधानबाटै गरिएन भने आजको १०÷१५ वर्ष भित्रमा फेरि यो भन्दा ठूलो आन्दोलन हुने निश्चित छ ।’
उनले अझै भनेका छन्, ‘यस पटक जेन–जी आन्दोलनमा नेताहरु कुटिएमात्र, तर भविष्यको त्यो अवस्थामा नेताहरु खोजि खोजि पासविक रुपमा मारिने छन् । आफ्नै घरमा पनि मानिसहरु सुरक्षित नहुने र हामीले कल्पना गरे भन्दा पनि बढी मानिसहरुले ज्यान गुमाउने परिस्थिति आउन सक्छ । समयमा नै सवैलाई चेतना भया । देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आउनु भएका तत्कालिन प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति डा। सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै घाइतेहरूको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् । उनी सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले ‘नेता भनेको जनताको साँचो अभिभावक हो’ भन्ने सन्देशलाई बलियो बनाएका छन्।




प्रतिक्रिया