कांग्रेस संस्थापनइतर समूहद्वारा विशेष महाधिवेशनको माग, भोलिदेखि हस्ताक्षर संकलन गरिने


काठमाडौं, ६ असोज । नेपाली कांग्रेस संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टिलाई विधिसम्मत ढंगले बदल्न र पार्टीलाई पुनर्जीवन दिएर पुनर्गठन गर्नका लागि विशेष महाधिवेशन एकमात्रै विकल्प रहेको बताएका हुन् ।

‘विगतका गल्तीप्रति आम देशवासी, शुभेच्छुक तथा समर्थकप्रति क्षमा माग्न र सुधारिएर भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम छैन र हुन पनि सक्दैन । देशको वर्तमान अवस्थाको गम्भीरता, पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरुको निरुपण आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महशुस गरी हामी नेपाली कांग्रेसका साथीहरुलाई यस अभियानमा जोडिन आग्रह गर्छौं,’– महाधिवेशन प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशभरीका झण्डै १ हजार १ सय प्रतिनिधिसँग सम्पर्क भएको र उनीहरुले विशेष महाधिवेशनको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गरेको पनि बताइएको छ । पार्टीलाई अझ लोकतान्त्रिक, सुदृढ र सशक्त बनाउनका लागि विशेष महाधिवेशनको आवश्यकता औंल्याइएको छ ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले विधानमा भएको व्यवस्थाअनुसार आफूहरुले केन्द्रीय समितिलाई विशेष महाधिवेशनको लागि दवाब दिन ४० प्रतिशतको हस्ताक्षर बुझाउने तयारी गरेको बताए । केन्द्रीय समितिले अहिलेको परिस्थितिको विवेचना गरेर यो विषयमा टुङ्गोमा पुग्नुपर्ने उनको माग छ । उनले अहिले नेतृत्व नै फेर्नपर्ने आवश्यकता औंल्याए ।

‘नेतृत्व फेर्ने बेला भयो । हामीले बारम्बार भन्यौं । चार÷पाँच वर्षदेखि हामी कराइराखेका छौं । हाम्रो सुझाव र आग्रह वास्तवमा अरण्य रोदन भएको छ, खोलाको गीतजस्तो भएको छ । सुनुवाइ भएको छैन । यो कुरालाई पार्टीले अख्तियार गर्यौं,’– उनले भने ।

देखाउन मिल्ने अनुहार, जनताले विश्वास गरेका अनुहार र जनताले भरोसा गरेका अनुहारहरु नेतृत्वमा आउनुपर्ने उनको भनाइ छ । नेता घिमिरेले भोलिबाटै हस्ताक्षर अभियान प्रारम्भ गरिने र दसैंको विदाभरीमा यो काम सकेर केन्द्रीय कार्यालयमा ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाएर विशेष महाधिवेशनतर्फ पार्टीलाई उन्मुख गराइने बताए ।

नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले ७५ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमा विशेष महाधिवेशन बोलाइने बताए । ‘हामीसँग लगभग ४ हजार ८ सय महाधिवेशन प्रतिनिधिहरु हुनुहुन्छ । यही पूर्णिमाको दिनको आसपासमा ३ हजार प्लस महाधिवेशन प्रतिनिधि, ७५ प्रतिशत महाधिवेशन प्रतिनिधिले सही गरेर विशेष महाधिवेशन बोलाउँदैछौं हामीले,’– उनले भने ।