दशैंमा सार्वजनिक सवारी भन्दा सडकको समस्याले सास्ती


काठमाडौं, असोज ७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दशैं, तिहार र छठ पर्वका लागि गाउँ फर्किन सार्वजनिक सवारी भन्दा सडकको समस्याले यात्रु अलपत्र परेको बताएका छन् ।

राजधानीलाई कर्मथलो बनाएर बसेकाहरु दसैँ मनाउन गाउँ फर्किने क्रम बढेसँगै विभिन्न सडकमा खसेका सुख्खा पहिरोले हजारौ यात्रु अलपत्र परेको जानकारी दिदै उनले बाटो र मौसमको अवस्था हेरेर मात्रै यात्रा गर्न आग्रह गरे ।

नेपाली रेडियो नेटवर्ककाे नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, ‘झन्डै ७२ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको काठमाडौं–मुग्लिन सडक पुनः अवरोध भएको खवर आएको छ । काठमाडौं–मुग्लिन सडक मात्रै नभएर मुग्लिन–पोखरा, नारायणगढ–बुटवल सडक र बी.पी राजमार्गको अवस्था समेत उस्तै रहेकाले हरेक यात्रुले आफूले यात्रा गर्ने सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न आग्रह गर्न चाहान्छु ।’

विगतका वर्षहरुमा असोज महिनामा प्राय सुख्खा पहिरो जाने घटना बिरलै हुने गरेकोमा यस वर्ष अझैसम्म बर्षा जारी रहेकाले ठाउँठाउँमा पहिरो जाने क्रम चलिरहेको उनले बताए । उपत्यकाबाट बाहिरएका सवारीहरु लामो समय बाटौमै अलपत्र परेका कारण फर्किन समय लागेपछि कुनै पनि रुटमा थप गाडीको व्यवस्था गर्न नसकिएको उनको भनाई छ ।

विगतमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकोमा यो वर्ष देशमा उत्पन्न विषम परिस्थितिका कारण सबै विद्यालय, क्याम्पसको पढ्नपाठन बन्द भएपछि घटस्थापना अघि लाखौ यात्रु बाहिरिसकेको उनले बताए ।

अहिले राजधानीबाट लामो तथा छोटो दूरीका सार्वजनिक बस, माइक्रो बस, सुमो नथा नीजि सवारीमार्फत करिव ५० हजार यात्रु उपत्यकाबाट बाहिरिने गरेको जानकारी दिदै राजमार्गको अवस्था सुधार भए फुलपाती अघि नै यो सङ्ख्या दोब्बर नाघ्ने उनको भनाई छ ।

पछिल्लो समय गोंगबु, माछापोखरी क्षेत्रमा मात्रै नभएर कलङ्की, चावहिल, गौशाला, कोटेश्वर, बल्खु लगायतका स्थानमा रहेका टिकट काउन्टरमा दैनिकजसो यात्रुको भिड बढिरहेको छ । काठमाडौं उपत्यकाबाट छुटेका सवारी घण्टौ लामो जाममा पर्ने भएका कारण यात्रुले आफूलाई चाहिने अत्यावश्यक वस्तुहरु जस्तै, पानी, चाउचाउ लगायतका समाग्रीसमेत बोकेर यात्रामा निस्कन समेत उनले आग्रह गरे ।