रास्वपा केन्द्रीय समितिको बैठक सुरु


काठमाडौ, असोज ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्न पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकको सुरुवातमा जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरु प्रति श्रद्धा सुमन व्यक्त गर्दै एक मिनेट मौन धारण गरेर बैठकको सुरुवात भएको छ। रास्वपाले आजको बैठकमा छलफल गर्न ६ वटा कार्यसूची तय गरिएको छ।

परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न र निर्वाचन रणनीतिबारे छलफल गर्न पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बोलाएको बैठकमा पार्टी सङ्गठन एवं विभाग, समसामयिक अवस्था, प्रदेश सभापतिहरूका तर्फबाट प्रदेश बैठकबाट प्राप्त विवरण प्रस्तुत, महाधिवेशन र समसामयिक अवस्था एवं बैठकबारे छलफल हुने प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने, परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यले धारणा राख्ने, आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे छलफल गर्ने लगायतका कार्यसूची रहेका छन् ।

रास्वपाले आजको बैठकमा पार्टी संगठन एवं रिक्त विभागहरू पूर्ति र महाधिवेशनबारे समेत छलफल गर्दैछ । रास्वपाको महाधिवेशन फागुन ७, ८, ९ गते तय गरिएको छ।