काठमाडौं, ७ असोज । मानवअधिकारवादी नेता चरण प्रसाईँले वर्तमान सरकारको अगाडि धेरै चुनौतिहरु र राष्ट्रको ठूलो आकांक्षा रहेको बताएका छन् । जेन–जी आन्दोलनमा साहदत प्राप्त गर्नेहरुको सपना पूरा गर्न र लोकतन्त्रलाई नै अझ मजबुद पार्नका लागि सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारको ठूलो जिम्मेवारी रहेको बताएका हुन् । तोकिएको समयमा निर्वाचन गराउने र देशलाई भ्रष्टाचारमुक्त बनाउने पनि अहिलेको सरकारको दायित्व रहेको उनले बताए ।
प्रसाईँले अहिले लोकतन्त्र तीन शीर्ष नेताहरुको कारण खतरामा रहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कारण लोकतन्त्र खतरामा रहेको कुरा आफूले पटक–पटक बताउँदै आएको उनको भनाइ छ ।
‘अहिले लोकतन्त्र खतरामा छ भने तीन वटा नेताकै कारणले खतरामा छ भनेर तपाईँ हामीले पटक–पटक भनेको हो नि त । त्यो भनिरहँदा पनि उहाँहरुले सुन्नुभएन । यो आन्दोलनले एउटा म्याण्डेट दिएको छ । उहाँहरुले कुरा अहिले पनि बुझ्नु भएन भने उहाँहरु त डुब्नुहुन्छ, डुब्नुहुन्छ । इतिहास बोकेका पार्टीहरु पनि इतिहास बन्ने अवस्थामा उहाँहरुले नै पुर्याउनुहुन्छ भन्ने लाग्छ । यो आक्रोश, जेन–जीको आन्दोलनको कुरालाई पनि उहाँहरुले नबुझिसकेपछि अब जनताले नै वास्तविकता के हो भनेर उहाँहरुले देखाउनुहुन्छ,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
साथै, उनले अहिलेको सरकारको गति हेर्दा ६ महिनाभित्रमा निर्वाचन गर्ने अवस्था नरहेको बताए । ‘जुन काम गर्ने शैली छ, यो शैलीबाट ६ महिनाभित्र निर्वाचन गर्न सक्छ भन्न सकिँदैन । आगामी दिनमा कसरी पाइला चाल्छ, त्यो अलगै कुरा हो । तर, यो गतिमा चाहिँ यो सरकारले ६ महिनाभित्र चुनाव गर्छ भन्ने चाहिँ विश्वास गर्ने अवस्था रहेको जस्तो मलाई लाग्दैन,’– उनले भने ।




प्रतिक्रिया