काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालमाथि नेतृत्व हस्तान्तरणको दबाब बढेको छ । जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको विश्लेषण गर्न बसेको पदाधिकारी बैठकमा अध्यक्ष दाहालले आगामी मंसिरभित्रै विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । दाहालले अहिलेका पार्टीका सबै कमिटी भङ्ग गर्ने प्रस्ताव छ । सो प्रस्ताव पदाधिकारीले पारित गर्दै यही असोज ९ गते केन्द्रीय कमिटीको बैठक बोलाईएको छ ।
पदाधिकारी बैठकमा भने उपमहासचिव जनार्दन शर्माले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिन भनेको कुरा बाहिरिएको छ । तर, माओवादी केन्द्रका एक पदाधिकारीले भने कार्यवाहक अध्यक्ष आफूलाइ दिने भनेर स्वयम नारायणकाजीले भनै मागेका थिए । अध्यक्ष प्रचण्डविरुद्ध सुनियोजित रूपमा घेराबन्दी गरिएको आभाष हुन थालेको ती पदाधिकारीको दाबी छ ।
माओवादीनिकट उच्च स्रोतकाअनुसार आवश्यक परे नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टी फुटाएर भएपनि माओवादी केन्द्रलाई पूनर्गठन गर्नुपर्ने भन्दै एकथरीले दबाब बढाएका छन् । जेन–जी आन्दोलनपछि पार्टी नै विघटन भैसकेको अवस्थामा अब प्रचण्डबाट पार्टी पार नलाग्ने र आकर्षण नथपिने श्रेष्ठ र शर्मा समूहका नेताहरुको भनाई छ ।
अहिले अध्यक्ष प्रचण्डलाई नेतृत्वबाट विस्थापित गर्ने भन्दै श्रेष्ठलाई शर्माले दरिलो साथ दिएको गाईंगुईं चल्न थालेको छ । माओवादी छोडेर नयाँ राजनीतिक यात्रामा रहेका दल र यसका नेताहरुलाई समेत श्रेष्ठ–समूहका नेताले नयाँ ढंगले अघि बढ्नुपर्ने भएकोले सहकार्यको लागि प्रस्ताव गरिरहेको खुलेको छ ।
माओवादी केन्द्रको यही असोज ९ गतेको लागि बोलाईएको केन्द्रीय कमिटी बैठकको भेन्यू तय भएको छैन । तर, यो बैठकले माओवादी केन्द्र सग्लो हुने वा विभाजन हुने लगभग तय गर्ने माओवादीनिकट उच्च स्रोतको दाबी छ । अध्यक्ष प्रचण्डले पनि पार्टीका आफ्नो कित्ताविरोधी नेताहरुका पछिल्ला गतिविधि र रणनीति नजिकबाट नियाँलिरहेका छन् ।




प्रतिक्रिया