मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन भोलिसम्म लाग्ने


काठमाडौं, ८ असोज । मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन भोलि (बिहीबार) सम्म लाग्ने भएको छ । सडक डिभिजन भरतपुरका अनुसार ठूलो मात्रामा चट्टानसहितको माटो थुप्रिएकाले पन्छाउन समय लाग्ने भएको हो ।

हिजो (मंगलबार) बाटै पहिरो पन्छाउन भने थालिएको छ । तुइन खोलामा १२ हजारदेखि १४ हजार घनमिटर परिमाणमा पहिरो खसेको सडक डिभिजन भरतपुरको अनुमान रहेको छ ।

सडक विभागका प्रवक्ता प्रभात कुमार झाले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् । उक्त पहिरोमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ ।

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्र खनालले पनि आज पहिरो खुलाउन सक्ने अवस्था नरहेको बताए । पहिरोको भोल्यूम धेरै ठूलो भएको कारणले आज खुल्न सक्ने सम्भावना नरहेको र भोलि हुने प्रगतिबारे अपडेट गराउने पनि उनले बताए ।

‘मुग्लिन– नारायणघाट सडक खण्डको तुइन खोला भन्ने ठाउँमा अलि ठूलै मात्रामा पहिरो झरेको कारणले गर्दा नारायणघाटबाट मुग्लिनतर्फ जाने र मुग्लिनबाट नारायणघाटतर्फ आउने सडक पूर्ण रुपमा बन्द छ । हामीले खुलाउने प्रयास गरिराखेका छौं । ढुङ्गा खसिरहेको कारणले गर्दाखेरी काम गर्न अलि अप्ठ्यारो भएको छ । जनशक्ति र प्रविधिसहित त्यहाँ टोली तैनाथ रहेको अवस्था छ । साना गाडीहरुलाई मिल्नेसम्मको वैकल्पिक बाटो प्रयोग गर्न पनि हामीले जानकारी गराएका छौं । मकवानपुरबाट जान सकिने, धादिङबाट जान सकिने, काठमाडौंबाट हेटौडा हुँदै जान सकिने बाटोहरुको बारेमा पनि हामीले जानकारी गराइराखेका छौं,’– नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।