प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपाल-भारत सम्बन्ध नयाँ शिराबाट सुरु भइसक्यो, सरकारमाथिको विश्वसनीयता बढेर गएको छः कूटनीतिज्ञ कर्ण


काठमाडौं, ८ असोज । राजनीतिक विश्लेषक एवं कुटनीतिज्ञ विजयकान्त कर्णले अन्तर्राष्ट्रिय समुदायले प्रधानमन्त्री सुशीला कार्कीमाथि ठूलो विश्वास गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले छिमेकी मुलुकहरु भारत, चीन लगायत विभिन्न देशहरुले प्रधानमन्त्री कार्कीलाई बधाइ दिएको र स्वीकार गरेको बताए । प्रधानमन्त्री कार्कीलाई अन्तर्राष्ट्रिय लेजिटिमिसीको कुनै समस्या नरहेको उनको दाबी छ । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको विश्वसनीयता बढेर जाने सम्भावना रहेको उनले बताए ।

साथै, प्रधानमन्त्री कार्कीको सरकार बनेदेखि नै नेपाल–भारतबीचको सम्बन्ध नयाँ शिराबाट सुरु भएको उनको दाबी छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपालको विदेश नीतिलाई मजाक बनाइएको उनको आरोप छ । कूटनीतिज्ञ कर्णले पूर्व प्रधानमन्त्री ओलीको कारणले कतिपय मित्रराष्ट्रहरुसँगको सम्बन्ध झन बिग्रिएको बताए । पूर्व प्रधानमन्त्री ओलीले देशको हितको लागि भन्दा पनि आफ्नो दल, व्यक्तिगत इगो र आकांक्षाको लागिमात्रै काम गरेको उनको आरोप छ ।

‘नेपाल–भारतको बीचमा जुन समस्याहरु छन्, त्यो कुटनीतिक तरिकाले वार्ता भइरहेको हुन्छ, त्यो समाधान हुन्छ । जहाँसम्म खड्ग प्रसाद ओलीजीको सवाल छ, उहाँले नेपालको विदेश नीतिलाई, जसरी नेपालको राज्य संयन्त्रलाई उहाँले आफ्नो पकेट र आफ्नो पार्टीको खेलौना बनाउनुभएको थियो, त्यसैगरी नेपालको बाध्य सम्बन्धलाई पनि उहाँले मजाक बनाइदिनुभएको थियो । उहाँले गर्दा कतिपय मित्रराष्ट्रसँगको सम्बन्ध झन बिग्रिन पुगेको छ । त्यो कारण के भने उहाँ देशको हितको लागि होइन, उहाँको दल र उहाँको व्यक्तिगत इगो, आकांक्षाको लागिमात्रै भएको छ । अहिले नयाँ शिराबाट नेपाल–भारतको सम्बन्ध सुरुवात भएको छ । मणिपुरबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले त्यतिराम्रो सम्बोधन गर्नुभयो । सहयोग गर्न तयार छौं भन्नुभयो । नयाँ सुरुवात भइनै सकेको छ,’– उनले भने ।

साथै, उनले भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई छिट्टै भारत भ्रमणको निमन्त्रण पठाउन सक्ने सम्भावना रहेको पनि बताए । तर, प्रधानमन्त्री कार्कीले विदेश भ्रमण भन्दा पनि अहिले आन्तरिक व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।