आज पत्रकारसँग अन्तरक्रिया गर्दै रास्वपा, वाग्ले प्रमुख वक्ता


काठमाडौं, असोज ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएको छ । आज बेलुका ४ बजे आयोजना हुने अन्तरक्रिया कार्यक्रममा केन्द्रीय समितिको बैठकमा भएका छलफल र निर्णय सार्वजनिक गर्नुका साथै पार्टीको वर्तमान अवस्था र आगामी कदमबारे धारणा सार्वजनिक गरिनेछ ।

पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्लेको उपस्थितिमा हुने अन्तरक्रिया कार्यक्रममा महामन्त्री कविन्द्र वुर्लाकोटी र कोषाध्यक्ष लिमा अधिकारी लगायतका नेताको सहभागिता रहने जनाइएको छ । जेनजी आन्दोलनपछि सार्वजनिक रुपमा अभिव्यक्ति बाहिर नल्याएका वाग्लेले आज पार्टीले आयोजना गर्न लागेका अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्ने तयारी गरेका छन् ।

यसअघि सोमबार बसेको केन्द्रिय समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टी सभापतिको तर्फबाट प्रदेश बैठकबारे प्राप्त विवरणमाथी छलफल भएको जनाइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिमा केन्द्रित रहेर पार्टी सङ्गठन एवं विभाग सम्बन्धी विषयमा समेत छलफल भएको जनाइएको छ। रास्वपाले केन्द्रिय समितिको बैठकमा मुख्यतया घोषित निर्वाचनको रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन लगायतका विषयमा छलफल छलफल गरेको छ ।