दल खोलेर जेन-जी पुस्ता निर्वाचनमा होमिने, बालेन-कुलमान-हर्कसहितलाई समेट्ने


काठमाडौं, ८ असोज । हामी नेपालका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा जेन–जी पुस्ताले नयाँ दल खोलेर भाग लिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आगामी निर्वाचनमा जेन–जीहरुको नयाँ राजनीतिक दल जन्मिने बताएका हुन् । उनले आफूहरुको चाहना सुशासन भए पनि जबर्जस्ती राजनीतिमा तान्ने काम भएको बताए ।

‘हाम्रो आन्दोलन भ्रष्टाचारको विरुद्धमा थियो । तर, हामीलाई अहिले राजनीतिक दलहरुले कस्तोगरी तानिरहेका छन् ? जबर्जस्ती राजनीतिमा घुसाइरहेका छन् । हाम्रो चाहना थिएन राजनीतिमा छिर्ने । हाम्रो चाहना सुशासन होस्, नयाँ नेपाल बनोस्, गरिखाना पाउँ भन्ने मात्रै त उद्देश्य थियो । अब तान्छ नै भने जाऔं न त ? हामी सबै जना सक्षम छौं । अब लड्ने नै हो भने लडौं । अब नयाँ राजनीतिक दल जन्मिन्छ,’– उनले भने ।

जेन–जी पुस्ताको नेतृत्वमा खुल्ने नयाँ राजनीतिक दलको नामबारे भने आफूलाई थाहा नभएको उनले बताए । सबै जनाको राय, सुझाव लिएर नाम फाइनल हुने पनि उनले बताए । ‘अगामी निर्वाचनमा जेन–जी पुस्ताले नयाँ राजनीतिक दल खोलेर भाग लिन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘लिन्छ । देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन सक्छौं भनेर । हामी कतिको सक्षम छौं भनेर हामीले त्यतिखेर देखाउन सक्छौं ।’

साथै, उनले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले राजनीतिक दलको दबदवाहको बीचमा स्वतन्त्र उठेर नयाँ आशा जगाएको बताए । बालेनले कोरेको बाटोमा अहिले आफूहरु पनि हिँडिरहेको उनले बताए । उनले बालेनसँग आफ्नो व्यक्तिगत चिनजान र भेटघाट भने नरहेको बताए । अब आफूहरुको जिम्मेवारी कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङजस्ता मान्छेहरुलाई दल खोलेर एउटै ठाउँमा ल्याउनका लागि हुने उनले बताए ।

‘उहाँ (बालेन) लाई पनि समेट्नुपर्यो । कुलमान घिसिङले पनि राजनीतिक दल खोल्छु भनिरहनुभएको छ । उहाँलाई पनि समेट्नुपर्यो । जब लक्ष्य एउटै छ, बाटो किन भिन्न बनाउने ? बाटो त एउटै बनाउँ न । यसमा पनि उहाँहरु सबै जना प्रधानमन्त्री नै बन्न चाहनुहुन्छ भने चाहिँ आई एम रेडी टु लिभ । तर, हाम्रो जिम्मेवारी चाहिँ उहाँहरुलाई एउटै ठाउँमा ल्याउने हुन्छ । हामीलाई नयाँ नेपालको लागि सबै जनालाई समेट्नु छ नि त । मलाई प्रधानमन्त्री नै बन्नुपर्छ भन्ने छैन । मेरो व्यक्तिगत उद्देश्य त देश परिवर्तन हुनुपर्छ भन्ने छ,’– उनले भने ।