काठमाडौं, ८ असोज । नेपाल पूर्व प्रहरी संगठनले जेन–जी पुस्ताको आन्दोलन र त्यसपछि बनेको सरकारको समर्थन गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलन र वर्तमान सरकारप्रति समर्थन जनाएको हो ।
‘नेपाल पूर्व प्रहरी संगठन सुशासनको लागि जेन–जी पुस्ताद्वारा अगाडि सारिएको पवित्र उद्देश्यको हामी समर्थन गर्छौं । अहिले देशमा जेन–जी पुस्ताले जुन किसिमको आन्दोलन गर्यो, जसरी अहिले परिवर्तन आएको छ, सरकार गठन भएको छ । यो आन्दोलनलाई नेपाल पूर्व प्रहरी संगठनले पूर्ण रुपमा समर्थन गर्दछ,’– पूर्व एसएसपी प्रदीप कुमार श्रेष्ठले भने ।
जेन–जी आन्दोलनको क्रममा भएको सरकारी, निजी र व्यवसायिक सम्पत्तिमाथिको तोडफोड र आगजनीको पूर्व प्रहरी संगठनले भर्त्सना गरेको छ । अपराधजन्य कार्य गर्ने, लुटपाट गर्ने व्यक्तिहरुलाई कानूनबमोजिमको कारबाही गर्न पूर्व प्रहरी संगठनले नेपाल सरकारसँग माग गरेको छ ।
हाल उब्जिएको जेन–जी विद्रोहको कारक प्रहरी प्रशासन नभएर यो भन्दा अगाडिको सरकार रहेको पूर्व प्रहरी संगठनको निचोड छ । पूर्व प्रहरी संगठनले वर्तमान सरकारको उद्देश्य प्राप्तिका लागि प्रत्यक्ष सहभागी भई सहयोग गर्न चाहेको पनि बताएको छ । प्रहरी संगठनलाई शासकहरुले आफ्नो दलको भलाई र व्यक्तिगत स्वार्थमा प्रयोग गरेको, प्रहरीबाट प्रेषित सुरक्षा योजनामा आवश्यक बजेट विनियोजन नहुने, नियुक्ति, सरुवा, बढुवा, बृत्तिविकास आदिमा राजनीतिक हस्तक्षेपको कारण प्रहरीको व्यवसायिकतामा प्रतिकूल असर परेको पनि पूर्व प्रहरी संगठनको ठहर छ ।
त्यस्तै, हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरिएको छ ।
पूर्व प्रहरी संगठनका अध्यक्ष वशन्त कुँवरले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायहरुले हारेको टिप्पणी गरे । सरकारले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग ‘तपाईँहरु किन हार्नुभयो ?’ भनेर प्रश्न गर्न सक्नुपर्ने उनले बताए । शासन सत्ता नै पल्टिने, साह्रा सरकारी भवनहरु जल्ने, निजी सम्पत्तिहरु पनि खत्तम हुने अवस्था आउनुमा प्रहरी संगठनलाई कमजोर पार्नु मुख्य कारण रहेको उनले बताए ।
उनले भने, ‘सुरक्षा फौज हार्छ भने सुरक्षा फौजलाई पालेको किन ? सेनाको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? सशस्त्रको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? हामीलाई कुन प्रधानमन्त्री मन पर्यो, कुन मन परेन, कुन दलको छ ? त्यो हामी एकछिन विर्सिऊँ । अबको नेपालको समस्या के आयो भने कुनै पनि सरकार नटिक्ने भयो । त्यसकारण हाम्रो भनाइ के हो भने, सरकारले सोधोस् कि– तपाईँहरु किन हार्नुभयो ?’




प्रतिक्रिया