नेसपा (नयाँ शक्ति) को आह्वानलाई जेन-जी विद्रोहले साकार पार्योः पूर्व प्रधानमन्त्री डा.भट्टराई


काठमाडौं, ८ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले विगतदेखि गर्दै आएको आह्वानलाई जेन–जी विद्रोहले साकार गरेको बताएका छन् । आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले विगतदेखि नै राजनीति स्थायित्व, सुशासन र समृद्धिको पक्षमा आह्वान गर्दै आएको स्मरण गराए ।

जेनजी विद्रोहसँगै अब सिङ्गो देशलाई विश्वासमा लिएर नयाँ वैकल्पिक शक्ति निर्माणको पहलकदमी दिनुपर्ने उनले धारणा राखेका थिए । आफूहरुले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था र सुशासनका लागि शक्तिशाली एउटा जनलोकपाल र सुशासन कायम गरेर देशलाई समृद्धिको दिशामा लैजाने उद्घोष २०७२ सालमै गरेको पनि उनले स्मरण गराए । त्यो अहिले २०८२ सालमा आएर जेनजी पुस्ताले आफूहरुको आह्वानलाई साकार बनाउने काम गरेको उनले बताए । उनले जेन–जीको अगुवा आफूहरु रहेको पनि दाबी गरे । जेन–जी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्नुपर्ने र प्रतिक्रान्तितिर जान दिन नहुने पनि उनले बताए ।

साथै, पूर्व प्रधानमन्त्री भट्टराईले पुराना दलका भ्रष्ट नेतृत्वविरुद्ध रहेको पनि बताए । उनले जेन–जी विद्रोहपछि सबै पार्टी पुनर्गठनको दवाब सिर्जना भएको बताए । अध्यक्ष भट्टराईले पार्टीलाई एउटा तहमा पुर्याएर आफूले पनि दलको जिम्मेवारी युवालाई हस्तान्तरण गर्ने बताए ।