तोकिएकै मितिमा निर्वाचन गराउन माओवादी केन्द्रको माग


काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) ले तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज (बुधबार) बसेको स्थायी कमिटी बैठकले आगामी फागुन २१ गते नै निर्वाचन गराउन माग गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । निर्वाचन गराउनका लागि पार्टीले आवश्यक भूमिका खेल्ने पनि माओवादीले बताएको छ ।

माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले जेन–जीसहित परिवर्तनकारी शक्तिहरुसँग संवाद गर्दै समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरुसँग एकताको लागि पहल गर्ने पनि निर्णय गरेको बताइएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा पार्टीले आगामी मंसिरमा गर्ने भनेको विशेष महाधिवेशनको बारेमा पनि चर्चा भएको थियो ।