सुदूरका २३ कांग्रेस नेताहरु देउवाको पक्षमा उभिए, विशेष महाधिवेशनको हस्ताक्षर अभियानले पार्टी कमजोर हुने चिन्ता


काठमाडौं, ८ असोज । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकका नेताहरुले विशेष महाधिवेशनको नाममा भइरहेको हस्ताक्षर संकलनले पार्टी कमजोर हुने चिन्ता व्यक्त गरेका छन् । आज (बुधबार) बसेको कांग्रेस केन्द्रीय सदस्य, मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश कार्यसमितिका कार्यवाहक सभापति, प्रदेश सरकारमा मन्त्री, जिल्ला सभापति, प्रदेश सभा सदस्य, प्रदेश तथा जिल्लाका पदाधिकारी बीच भएको छलफलपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र पार्टीभित्र एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्रै होइन, लोकतन्त्र नै समाप्त हुने भएकाले सबै साथीहरु सचेत, सजग रहन अपिल गर्दछौं ।’

कांग्रेस संस्थापनइतर समूहले विशेष महाधिवेशनको माग गर्दै महाधिवेशनप्रतिनिधिहरुबीच हस्ताक्षर अभियान सुरु गरेको छ । कांग्रेस नेता गुरुराज घिमिरेसहितको टिम हस्ताक्षर अभियानमा जुटेका छन् । कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्न सकिने प्रावधान रहेको छ । विशेष महाधिवेशनको पक्षमा ७५ प्रतिशत महाधिवेशन प्रतिनिधि उभिने इतर समूहको आँकलन रहेको छ ।

आजको छलफलमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्यहरु सुशीला मिश्र, नृप बहादुर वड, सुदूरका मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, कांग्रेस कैलालीका जिल्ला सभापति एवं राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, कांग्रेस कन्चनपुरका जिल्ला सभापति पदम बोगटीलगायत २३ जनाको उपस्थिति रहेको थियो ।

उक्त छलफलले राष्ट्रिय राजनीतिको निकासको सन्दर्भमा वर्तमान संविधानभित्रबाटै राजनीतिक दल, सरकार र जेन–जी युवाहरुबीच राष्ट्रिय सहमति गर्नुपर्ने, प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने, पुनर्स्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरिनुपर्ने, संशोधित संविधानमा टेकी आम निर्वाचन गरिनुपर्नेलगायतको माग अगाडि सारेको छ ।

त्यस्तै, जेन–जी आन्दोलनको क्रममा पार्टी सभापति शेरबहादुर देउवा र उनकी श्रीमतीसमेत रहेकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सनासमेत गरिएको छ ।