मन्त्री महावीर पुनले फागुनको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने, कुनै पनि दलमा नलाग्ने (भिडिओसहित)


काठमाडौं, ९ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सकभर फागुन २१ गते नै निर्वाचन गराउनेगरी सरकार र जनताले प्रयास गर्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारको चाहना फागुन २१ मा नै निर्वाचन गराउने रहेको बताएका हुन् । उनले प्राविधिक रुपमा कुनै कुरामा असम्भव भएको खण्डमा बाहेक फागुन २१ मा नै निर्वाचन हुने बताए ।

‘सकभर सबैको प्रयास भनेको, जनताको पनि प्रयास, सरकारको पनि प्रयास फागुनमै निर्वाचन गर्ने हो । भ्याकुम लामो समयसम्म सधैं राख्न हुँदैन । राख्यो भने त्यसबाट फेरि भित्रभित्रै सल्बलाउन थाल्छन् । सरकारको चाहना सकभर फागुन २१ गते नै निर्वाचन गराउने छ । प्राविधिक रुपमा कुनै कुरामा असम्भव भयो र गर्न सकिएन भने त्यो बेग्लै कुरा हो । तर, सकभर फागुनमै गराउने हो,’– उनले भने ।

अब आउने सरकार पहिलाको जस्तो सरकार हुन नहुने र आगामी निर्वाचनमा नयाँ–नयाँ मान्छेहरु निर्वाचित हुनुपर्ने उनले बताए । मन्त्री पुनले आगामी निर्वाचनमा आफू चुनाव नलड्ने पनि प्रष्ट पारे । उनले दल नखोल्ने र कुनै पनि दलमा नलाग्ने उद्घोष गरे । ‘म त कहाँ युवा हो त ? म चुनाव नलड्ने । ७० वर्ष भएँ । राजनीतिक दल खोलेर नजाने,’– उनले भने ।