काँग्रेसलाई क्रियाशील र सशक्त बनाउन जनताको बीचमा जानुपर्छः एनपी साउद


काठमाडौं, असोज ९ । नेपाली काँग्रेसका नेता एनपी साउदले पार्टीलाई क्रियाशील र सशक्त बनाई आत्मविश्वासपूर्वक जनताका बीचमा गएर अघि बढ्न काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।

जेनजी आन्दोलनको १६ दिनपछि समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता साउदले महान त्याग, तपस्या र बलिदानबाट विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव बनाई लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गरेको देशकै ठूलो पार्टी काँग्रेसले अव धैर्य, संयम र एकताका साथ पार्टीलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुद्वारा गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलनका क्रममा विद्यालय र कलेजको पोसाकमा रहेका विद्यार्थी, युवा तथा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ज्यान गुमाएको घटनाले निकै दुःखित बनाएको बताउँदै उनले देशका ऐतिहासिक सम्पदा र सार्वजनिक तथा निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी जस्ता घटनाले सबै नेपालीलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।

उनले समय र घटनाक्रमसँगै नेपालीको महान चाड दशैँ हाम्रो घर(आँगनमा आइपुगेको यस समयमा दुःख–पीडालाई बिर्सिएर नयाँ आशा उमंग र शक्ति प्राप्तिका साथ दशैँ, तिहार तथा छठ पर्व मनाउन शुभकामना व्यक्त गरेका छन् ।