माओवादी केन्द्रको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डको चाहना छः उपमहासचिव पुन


काठमाडौं, ९ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने चाहना राखेको बताएका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेको उपमहासचिव पुनले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गत साउनमा नै आफूले भूमिका बदल्ने भनेर प्रस्ताव राखिसकेको बताए । प्रचण्डको उक्त प्रस्तावलाई स्वीकार गरेर पार्टीमा अब ओपन छलफल हुने उनको भनाइ छ । जेन–जी आन्दोलनपछि भने प्रचण्डले राखेको प्रस्तावमा बहस झनै बढेर गएको उनको भनाइ छ ।

‘महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्। विधि र प्रक्रियामा जाऔँ भनेर उहाँ (प्रचण्ड) ले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ,’– उपमहासचिव पुनले भने ।

माओवादी उपमहासचिव पुनले जेनजी आन्दोलनको भावनलाई आत्मसाथ गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिका परिवर्तन गर्नुपर्छ भन्ने आफूहरुले सोचेको पनि बताए । नेताहरुले अध्यक्ष प्रचण्डमाथि मात्रै प्रश्न गरेर पनि नहुने बताउँदै उनले माओवादी पुस्तान्तरणको एजेण्डलाई स्वीकार गर्न तयार रहेको प्रष्ट पारे । अध्यक्ष प्रचण्डले आफ्नो भूमिका बदल्न तयार रहेको कुरा प्रष्ट पारिसकेको पनि बताए ।