काठमाडौं, ९ असोज । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का निवर्तमान अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले राजनीति र आन्दोलनबाट अवकाश लिन खोजेको नभएर पार्टीको जिम्मेवारीबाट मात्रै मुक्त भएको बताएका छन् । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै उनले आफू पार्टीको जिम्मेवारी र कार्यकारी पदबाट मुक्त भएको बताएका हुन् । उनले समाज रुपान्तरणको अभियान, न्यायको अभियान र जेन–जी पुस्ताले अघिसारेको आकांक्षाको अभियानलाई निरन्तर सघाउने पनि बताए । डा.भट्टराईले हिजो पार्टीको बैठकमा अध्यक्ष पद परित्यागको घोषणा गरेका थिए ।
‘म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, यसलाई एउटा विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहनेछु । मैले नैतिक हिसाबले पनि, नव युवाहरुले ढोका ढक्ढक्याइसके, नाती पुस्ता, नातिनी पुस्ता अगाडि आइसके । अब उनीहरुलाई हामीले प्रोत्साहन दिनुपर्छ । उनीहरुले अब यो देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता म राख्छु,’– उनले भने ।
अहिलेको जेन–जी विद्रोहबाट धनजनको क्षतिको बावजुद पनि ठूलो सकारात्मक परिवर्तन ल्याएको उनको बुझाइ छ । उनले नेपाली इतिहासलाई अब केही दशक अगाडि बढाउने, नेतृत्व गर्ने नयाँ पुस्ता संघर्षबाट दीक्षित भएको टिप्पणी गरे । जेन–जी पुस्तालाई प्रोत्साहन गर्दे पुराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्ने उनले आवश्यकता औंल्याए । ‘कि त सच्चिनुपर्छ, कि त सकिनुपर्छ भन्ने अवस्था छ । हामी वैकल्पिक राजनीतिक अभियन्ताहरुले पनि सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ । त्यो दिशामा बल पुगोस् भन्ने ढंगले मैले पद त्याग गरेको हो,’– उनले भनेका छन् ।
साथै, उनले जेन–जी विद्रोहलाई जायज र मौलिक विद्रोह भनेका छन् । उक्त विद्रोहका क्रममा केही प्रतिगामी शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन चाहने शक्तिहरुले आफ्नो स्वार्थको रोटी सेक्ने काम गरेको पनि उनले बताए । उनले भने, ‘विद्रोह जायज थियो । नेपाली युवाहरुको आफ्नै मौलिक विद्रोह हो त्यो । त्यसलाई देशभित्रको प्रतिगामी शक्ति जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन परेको छैन, त्यसलाई उल्ट्याउन चाहने शक्तिहरु र बाह्य शक्तिहरु नेपाललाई अस्थिरत बनाइराख्ने र आफ्नो स्वार्थको रोटी सेक्न चाहन्छन्, ती तत्वहरुले पनि हात हालेको सहजै बुझ्न सकिन्छ ।’
नेता भट्टराईले आफूले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास भरी र आधा खाली छ भनेको पनि उनले स्मर,ण गराए । वर्तमान संविधानमा शासकीय त्रुटी रहेको बताउँदै उनले यही प्रणालीमा रहेर कसैले पनि बहुमत ल्याउन नसक्ने बताए । यो प्रणालीमा सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्राणालीमा जानुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया