योगेश भट्टराईले औंल्याए एमाले पुनर्गठनको आवश्यकता


काठमाडौं, ९ असोज । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अब पार्टीलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । इतिहासको बेवास्ता र अपमान नगरीकन पार्टी र आन्दोलनको पुनर्गठन गरिनुपर्ने उनको मत छ । अहिले नेतृत्वमा रहेका पार्टीका नेताहरुको सम्मानसहितको पुनर्गठन आवश्यक रहेको उनको भनाइ छ ।

‘अब नेकपा (एमाले) लाई कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नुहुन्न । पार्टीका नेताहरु जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरुसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु,– उहाँहरुको सम्मानसहित पुनर्गठन ।’

उनले पार्टी पुनर्गठनको कुरा गरिरहँदा मुल नेतृत्व (केपी शर्मा ओली) माथिको प्रहारको रुपमा जबर्जस्ती व्याख्या गर्ने गरिएको पनि उनले स्मरण गराएका छन् । आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रहेको खण्डमा मात्रै इतिहासको सम्मान हुने र इतिहास रहने उनको भनाइ छ ।

‘फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरिरहँदा वर्तमान मूल नेतृत्वप्रतिको प्रहारको रुपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईहरुलाई भन्न चहान्छु, ‘कमरेडहरु, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरुको सम्मान रहन्छ । इतिहास रहन्छ,’– उनले भनेका छन् ।

एमाले र आन्दोलनलाई असाधरण योगदान गर्ने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरु, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरुलाई उनले गल्ती र कमजोरीहरुबाट सिक्दै पार्टी र आन्दोलनलाई पुर्नगठन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सामूहिक ढंगले समस्याको हल खोज्न, अस्तीत्व र भूमिकालाई स्वीकार गर्नसमेत आग्रह गरेका छन् ।