जेन-जी आन्दोलनका दोषीलाई सख्त कानूनी कारबाही गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता


काठमाडौं, ९ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका सम्बद्ध दोषीलाई सख्त कानूनी कारबाही गरिने बताएकी छन् । आज (बिहीबार) राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भनिन्, ‘आन्दोलनको क्रममा जेन–जी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनुपरेकोमा यो सरकार सम्बद्ध दोषीहरु उपर सख्त कानूनी कारबाही गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।’

प्रधानमन्त्री कार्कीले अहिलेको जटिल परिस्थितिमा मुलुकलाई निकास दिन आगामी फागुन २१ गते स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक पर्ने जनशक्ति, बजेट, निर्वाचन सामाग्री, सुरक्षा र कानूनी व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरी आम निर्वाचनको प्रारम्भिक कार्य सुरु गरिसकिएको पनि बताईन् ।

१८ वर्ष उमेर पुगेका जेन–जी युवा पुस्तालाई मताधिकार प्रदान गर्ने र मतदाता नामावली अध्यावधिक गर्नेगरी विद्यामान निर्वाचन कानूनलाई अध्यादेशको माध्यमबाट संशोधन गरिएको पनि उनले जानकारी गराईन् ।