काठमाडौं, १० असोज । नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पार्टी सभापति शेरबहादुर देउवाको सहमतिमा आगामी मंसिर वा पुसमा विधिवत महाधिवेशन हुनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै अब सभापति देउवाले नेतृत्व छाड्नुपर्ने र विधिवत रुपमा महाधिवेशन गराउनुपर्ने बताएका हुन् । नेता शेर्पाले सभापति देउवा आफैंले पनि नेतृत्व छाड्छु भनिराखेको बताए
‘उहाँ (देउवा) आफैंले म छोड्छु भनिराख्नुभएको छ । उहाँले अब विधिवत महाधिवेशन गरेर आउने चुनावमा नयाँ नेतृत्वले पार्टीलाई ड्राइभ गर्छ । शेरबहादुर देउवाजीको सहमतिमा केन्द्रीय समितिको बैठकबाट मंसिर वा पुसमा विधिवत महाधिवेशन गर्नुपर्छ,’– उनले भने ।
साथै, जेन–जी आन्दोलनका क्रममा पार्टी सभापति देउवालगायतका नेताहरुको घरमा पैसा जलेको भन्ने विषयमा निष्पक्ष छानविन हुनुपर्ने उनले बताए । निष्पक्ष छानविनका लागि नेविसंघले सहयोग गर्ने उनले बताए । तथ्य र प्रमाणको आधारमा उक्त घटनाको रिपोर्ट आउनुपर्ने उनको माग छ । उनले भने, ‘हामीले सामाजिक सञ्जालमा देख्यौं । त्यो बारेमा अहिले सरकारले छानविन समिति बनाएको छ । मुचुल्का उठाइसकेको छ । तथ्य र प्रमाणको आधारमा त्यसले रिपोर्ट लिएर आउँछ । त्यो प्रमाणित भयो भने नेविसंघ स्पष्ट रुपमा अनुसन्धान गर्न सहयोग गर्छ ।’
साथै, उनले २०४६ सालपछिको सार्वजनिक पद धारण गर्ने व्यक्तिहरुको सम्पत्ति छानविन हुनुपर्ने बताए । उनीहरुमाथि छानविन गरी आवश्यक कारबाही गरिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ । File Photo/RN




प्रतिक्रिया