काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रञ्जित तामाङले आगामी महाधिवेशनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुपर्छ भन्ने कुरामा केन्द्रीय समितिमा बहुमत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्डले औचित्यता पुष्टि गर्दै रुपान्तरण र पारदर्शिताको संकल्प गर्दै आम जनतालाई अपिल गरेर अझ एक कार्यकाल नेतृत्व गर्नुपर्छ भन्ने मत पनि बलियो रहेको बताए । उनले प्रचण्डको क्रेज अझै माओवादीमा र जनतामा नघटेको स्थिति रहेको बताए ।
‘प्रचण्डको औचित्य समाप्त भइसकेको छैन । देशी विदेशी विभिन्न ढंगबाट प्रचण्ड गलहत्याउने कुरा, अहिले प्रचण्ड हटाउने, नारायणकाजी भन्ने । भोलि नारायणकाजी हटाउने र अर्को भन्ने । अन्ततः यो माओवादी नै होइन भन्नेपट्टी परिलक्षित छ । त्यो बाट प्रभावित हुन हुँदैन र अहिले त्योअनुसार कोही पनि कहीँ प्रभावित नभई प्रचण्डलाई लानुपर्छ भन्ने ८० प्रतिशत मत हलभित्र छ,’– उनले भने ।
यद्यपि, माओवादीमा प्रचण्डको विकल्प नै छैन भन्ने कुरा पनि नरहेको उनले बताए । आफूहरुसहित जेन–जी पुस्ताको माग भने पदाधिकारी र स्थायी समिटीमा पुराना पुस्ताका थोरै नेताहरु बसेर त्यसको ठाउँमा युवाहरुलाई स्थान दिइनुपर्ने उनले बताए ।
‘माओवादीले प्रचण्डको विकल्प नखोज्ने भनेको होइन । तर, समय र सन्दर्भअनुसार अहिले प्रचण्ड कि अर्को कोही भन्ने कुरा होइन । अहिले त हामी पार्टीको पदाधिकारी र स्थायी समितिको ठूलो संख्या जो छ, त्यो ठूलो संख्यामध्ये थोरै टिम बसेर नयाँ पुस्तालाई अवसर दिनुपर्यो भन्ने हाम्रो कुरा छ । अहिलेको पदाधिकारी र स्थायी समितिका ४५ जना नेताहरुमध्ये ५/७ जना नेताहरु बसेर अरु बाँकी सबै ठाउँमा युवाहरुलाई अवसर दिएर जानुपर्छ भन्ने हाम्रो कुरा छ,’– उनले भने ।
अहिले माओवादीमा ‘प्रचण्डले छोड्नुपर्छ, प्रचण्डले छोडेपछि माओवादी जाग्छ, नछोड्दाखेरी माओवादी डुब्छ’ भन्ने कुरा पनि रहेको उनले बताए । यद्यपि अहिलेको सवाल प्रचण्डले पकड्दा र छोड्दाखेरी पार्टी डुब्छ कि उठ्छ भन्ने कुरा नरहेको उनले बताए । नेता तामाङले कम्युनिष्ट पार्टी र त्यसमा पनि माओवादीको दृष्टिकोण्बाट प्रचण्डमात्रै नभएर अरु जो–कोही आए पनि विश्वको दृष्टिकोण, अरु दलको दृष्टिकोण र वैचारिक दृष्टिकोणमा कुनै बदलाब नआउने बताए ।
अहिले जेन–जी पुस्ताले आन्दोलनको रुपमा स्थापित गरेको कुरा नेता यो उमेर समूहको र त्यो उमेर समूहको भन्ने नरहेको पनि उनले बताए । जेन–जी पुस्ताको सन्देश राजनीतिक दलहरु पारदर्शी, जवाफदेही, जिम्मेवार, भ्रष्टाचारको विरुद्धमा प्रतिवद्धता र सुशासनको बारेमा संकल्प हुनुपर्यो भन्ने रहेको पनि उनले बताए ।




प्रतिक्रिया