१५० वर्ष पुरानो घर जलाइएपछि उपेन्द्र महतोको गुनासो: ‘धनीहरू भनेका पापी हुन् भनेर सोच राखियो भने यो देश अझै खरानी भएर जान्छ’


काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले आफ्नो घरमा आगजानी, तोडफोड र लुटपाट भएपनि नेपालको विकासको लागि कहिल्यैपनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते महतोको विशालनगरमा रहेको १५० वर्षको इतिहास बोकेको राणाकालिन ऐतिहासिक भवन (निवास) तोडफोड, लुटपाट र आगजानी भएपछि महतोको यस्तो प्रतिक्रिया आएको हो । उनले वर्तमान सरकार र जेन–जी आन्दोलनका अगुवालाई आन्दोलनकारी र लुटेराहरुलाई छुट्याईदिन आग्रह गरेका छन् ।

उनले भने,‘जसले लुटेको छ, सेफ फोडेर लुटेका छन्, पैसा लगेका छन्, सामान लगेका छन्, गरगहना र लुगाफाटा लुटेर गएका छन्, यो घर भनेको मेरो व्यक्तिगत घरमात्रै थिएन, यो त १५० वर्ष पूरानो घर हो, यो घरमा मैले विश्वका धेरै देशबाट एन्टिक वस्तु ल्याएर राखेको थिएँ, मेरो धर्मपत्नीले जहाँपनि कुनै राम्रो कुरा पाउँदा ल्याएर यही घरमा सजाएर राखेकी थिईन, यो घर त म्युजियमजस्ते थियो, नेपालको शान थियो, त्यो ढलेको छ आज ।’

आफ्नो यही घर गैरआवासीय नेपालीहरुको लागि राम्रो थलो भएको र धेरै अभियान र कार्यक्रम यही घरमा बसेर बनाईएको पनि उनले स्मरण गराए । आफ्ना सन्तानलाई पनि यही घरले स्वदेश फर्कनको लागि प्रेरित गरेको महतोको दाबी छ । उनले नेपाललाई छोटो समयमा नै विश्वकै समृद्ध देश बनाउन सकिने विश्वास दिलाए । उनले सरकारले लुटेरालाई सजाय दिनुपर्ने र लुटेर होईन मेहनत गरेर धन आर्जन गर्न सकिन्छ भनेर सिकाउन जरूरी रहेको पनि बताए ।

डा. महतोले धनीहरु भनेको सबै पापी, शोषणकारी हुन् भन्ने भावना पालियो भने देश कहिल्यैपनि नबन्ने टिप्पणी गरे । उनले थपे,‘पहिलाजस्तै राजनीतिज्ञहरुले जुन गरे कि धनीहरु भनेको शोषणकारी हुन्, धनीहरु भनेका समाजका दुस्मन हुन्, यसरी कुरा गरियो भने यो देश अझै योभन्दापनि खरानी भएर जान्छ।’

उनले नेपाललाई खरानी हुनबाट बचाउनको लागि पनि प्रत्येक नेपाली धनी बन्नुपर्ने सुझाव दिएका छन् । आफू रसियामा हुँदाबखत पनि मान्छे जहाँ हुन्छ त्यहाँ समस्या हुन्छ भनेर सिकाईएकोले अहिलेको नेपालमा घटेको घट्ना र वर्तमान समस्याबाट नभाग्ने महतोले विश्वास दिलाए । अहिले आफूहरुको भावनामाथि चोट पुगेको भएपनि यस चोटमा मल्हम लगाएर अघि बढ्ने उनको अठोट छ ।