माओवादी केन्द्र मर्मत हुनै नसक्ने अवस्थामा पुगेको राम कार्कीको टिप्पणी, विघटनको लागि सुझाव


काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पार्टी विघटनको आवश्यकता औंल्याएका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै उनले माओवादी केन्द्र अब जलेको घरजस्तै मर्मत नहुने अवस्थामा पुगिसकेको बताए । पार्टीलाई विघटन गरी पुनर्निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

नेता कार्कीले अब पुराना पार्टीहरुले थेग्न नसक्ने र अगाडि बढ्न पनि नसक्ने बताउँदै प्रदेश अध्यक्षहरुको संयोजन समिति बनाएर माओवादीलाई विघटन गरी नयाँ शिराबाट नयाँ पार्टी निर्माण गरिनुपर्ने धारणा राखे । उनले माओवादी र जनताबीच दुरी बढ्दै गएको पनि बतटाए । अहिलेको विष्पोटको मूल कारण पनि पार्टी र जनताबीच बढ्दै गएको दुरी रहेको उनको भनाइ छ ।

नेता कार्कीले अहिलेको सिस्टमभित्र समाजवाद पनि नआउने र वेलफेयर स्टेट पनि नबन्ने बताए । नेतृत्वले नयाँ बाटो लिन नसकेको र पुरानै ढर्रामा रमाएको उनको दाबी छ । उनले विगत २० वर्षको अनुभवको समीक्षा गरेर नयाँ बाटो अख्तियार गर्नुपर्ने आवश्यकता औंल्याए ।