काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) ले जेन–जी पुस्तालाई पार्टीका सबै कमिटीमा अधिकतम् सहभागी गराउने निर्णय गरेको छ । आज (शुक्रबार) सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीका सबै कमिटीमा जेन–जीको अधिकतम् सहभागिता गराउनेलगायत विभिन्न सात वटा निर्णय गरेको हो ।
बैठकले केन्द्रीय कमिटी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । पदाधिकारीहरु आयोजक समितिको सचिवालयमा रुपान्तरण गर्ने र मंसिरमा महाधिवेशन गर्ने माओवादीको निर्णय रहेको छ ।
पार्टीभित्रका नेता तथा कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने, आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने, विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्नेलगायतको निर्णय गरेको हो ।
यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय कमिटीका सात निर्णयहरुः
- केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
- पार्टीभित्रका नेता(कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
- नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलन सम्बन्ध निति बनाउने ।
- जेन–जीलाई पार्टीका सबै कमटीमा अधिकतम् सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
- आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
- अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
- विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।




प्रतिक्रिया