प्रचण्डले दुई महिनापछि नेतृत्व छोड्नेमा लेखनाथ न्यौपाने विश्वस्त, अब पुस्तान्तरण हुने (भिडिओ सहित)


काठमाडौं, ११ असोज । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लेखनाथ न्यौपानेले अरु दलभन्दा आफ्नो दल फरक रहेको र जनप्रिय भएको दाबी गरेका छन् । पार्टीको हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा जनताको मुद्दाको विषयमा अधिकतम छलफल गरेर एउटा निर्णयमा पुगिएको उनको भनाई छ ।

उनले पार्टीलाई सकारात्मक दिशातर्फ लैजानेगरि निर्णय गरिएको बताए । आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आगामी मंसिरमा हुने विशेष महाधिवेशनमा अध्यक्षको लागि अहिलेका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिष्पर्धा नहुने प्रतिबद्धता व्यक्त गरेको पनि उनले स्मरण गराए ।

पत्रकार धमलाले ‘प्रचण्डले अध्यक्ष छोड्नुहुन्छ ? तपाईंलाई विश्वास छ ?’ भनेर सोधेको प्रश्नमा न्यौपानेले भने,‘उहाँले त्यो प्रतिबद्धता जाहेर गर्नुभएको छ, त्यति धेरै प्रतिनिधिहरुको बीचमा उहाँले यो प्रतिबद्धता व्यक्त गर्नुभएको छ, मंसिरमा हुने विशेष महाधिवेशनमा म अर्को पुस्तालाई नेतृत्व हस्तान्तरण गर्छु भनेर अध्यक्षले भन्नुभएको छ, यो निर्णय गरिएको विषय हो, अरुको निम्ति पनि यो धेरै सकारात्मक विषय हो । हाम्रो लागि त हुँदै हो ।’

उनले यो बैठकले नेताहरुको सम्पत्ति सार्वजनिक गर्ने र पार्टीले पनि शक्तिशाली आयोग बनाएर सम्पत्ति छानबिन गर्ने भनेर निर्णय गरिएकोमा खुशी व्यक्त गरे । माओवादीमा अझै पुस्तान्तरण हुँदैन भन्ने पत्रकार धमलाको प्रक्षेपण नमिल्ने न्यौपानेको दाबी छ । उनले अबको दुई महिनापछि माओवादीमा नेतृत्व हस्तान्तरण हुने दाबी गरे ।