काठमाडौं, ११ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हासँग भेटवार्ता गरेका छन् । हिजो शुक्रबार सिंहदरबारस्थित् उद्योग मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको हो ।
मन्त्री सिन्हाले आफूहरु विशेष परिस्थितिमा सरकारमा सहभागी भएको भन्दै आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गराउनु मुख्य दायित्व रहेको बताएका थिए । यस्तै, विषम परिस्थितिमा आपूर्ति श्रृंखला सुचारु राख्न भारतले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए । साथै, उनले भारतबाट हुँदै आएको सहयोगको निरन्तरताकोसमेत अपेक्षा गरेका थिए ।
यस्तै, मन्त्री सिन्हाले पछिल्लो समय नेपाल भारतबीच बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न व्यापार सहजीकरण, प्रक्रियागत सरलीकरण, भारतीय लगानी विस्तार र उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको संस्थागत क्षमता विकासमा सहयोग गर्न जोड दिँदै नेपालबाट भारतमा हुने निर्यातका वस्तुमा लगाइएको बीआरएस प्रमाणीकरण प्रक्रियालाई थप सहज र सरल बनाउन, स्टीलजन्य वस्तुहरुको निर्यातमा पूर्ववत सहजीकरण गर्न तथा सेफगार्ड शुल्क नलगाउन, जटजन्य बस्तुहरुको निर्यातमा एन्टी डम्पिङ शुल्क नलगाउने विषयमा सहजीकरण गर्न अनुरोध गरेका थिए । राजदूत श्रीवास्तवले मन्त्री सिन्हालाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।




प्रतिक्रिया