काठमाडौं, ११ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनको क्रममा बालुवाटारबाट भाग्नुपर्दाको क्षण स्मरण गराएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको टोलीसँग ओलीले गत भदौ २४ गते प्रदर्शनकारीहरुले आफूलाई मार्ने योजना नै बनाएको दाबी गरे । बालुवाटारबाट ५ मिनेट पहिला निस्किन सकेकाले मात्रै सुरक्षित भइएको पनि उनले बताए ।
अध्यक्ष ओलीले प्रदर्शनकारीहरु आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजनासहित अगाडि बढेको दाबी गरे । ‘पाँच मिनेट ढिला भएको भए मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालको योजना रहेको थियो,’– ओलीले भने ।
पूर्व प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षाकर्मीमाथि भरोसा भए पनि प्रदर्शन चर्किँदै गएपछि उनीहरुले पनि केही गर्न सकिँदैन भनेपछि त्यहाँबाट भाग्नुपरेको सुनाए । अन्तिममा नेपाली सेनाले आफूलाई सुरक्षित स्थानमा लगेको उनले स्मरण गरे । ‘सुरक्षकर्मीमाथि मलाई भरोसा भयो । तर, सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं भन्यो,’– उनले भने ।
तत्कालीन प्रधानमन्त्री ओलीले सो दिन दिउँसो २ बजे पदबाट राजीनामा दिएका थिए । आन्दोलन चर्किँदै गएपछि नेपाली सेनाले ओलीलाई हेलिकोप्टरमार्फत शिवपुरी ब्यारेकमा लगेर सुरक्षा दिएको थियो ।




प्रतिक्रिया