उपेन्द्र महतोको जलाईएको घर निरीक्षणमा पुगे अर्थमन्त्री खनाल


काठमाडौं, ११ असोज । अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले जेन–जी आन्दोलनको नाममा तोडफोड, लुटपाट र आगजानी भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको घरको निरीक्षण गरेका छन् ।

भाटभटेनी विशालनगरमा रहेको सो घरको निरीक्षणको लागि आज मन्त्री खनाल पुगेका हुन् । सरकारको प्रतिनिधि पहिलोपटक पुगेको बताईन्छ । महतोले हिजोमात्रै सरकारसमक्ष जेन–जी आन्दोलनकारी र लुटेरा छुट्याएर दोषीहरुलाई कारबाही गर्न माग गरेका थिए ।

महतोले आफूले सधैं नेपालको विकासको लागि सोचेको र विदेशबाट नेपालमा लगानी भित्र्याएको बताएका छन् । उनले आफू यो घट्नाबाट दुःखी भएपनि हतोत्साही नभएको बरु अझै धेरै देशमै लगानी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । महतोको यो घरले १५० वर्षको इतिहास बोकेको छ । उनले जलाईएको घर घरमात्रै नभएर देशकै ऐतिहासिक धरोहर रहेको बताउने गरेका छन् ।