काठमाडौं, ११ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो परिवारबारे ढाँटेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नी श्रीमती र दुई छोरीहरु पोखरामा रहेको बताएका थिए । तर, रिपोर्टर्स नेपाललाई प्राप्त प्रमाणको आधारमा मन्त्री पुनकी एउटी छोरी बंगलादेशमा डाक्टर पढिरहेको खुलेको छ ।
‘तपाईँको परिवार अहिले कहाँ हुनुहुन्छ त ?’ भन्ने प्रश्नमा मन्त्री पुनले भनेका छन्, ‘पोखरामा छन् । दुईवटा छोरी छन् । पोखरामा बस्छन्, श्रीमती छन् । छोरीहरु एउटाले पढ्दैछ, एउटाले नर्सिङमा जागिर गर्दैछ ।’
मन्त्री पुनको दाबीलाई खण्डण गर्नेगरी उनकी छोरी झरना पुन सन् २०२३/२४ देखि जहुरुल इस्लाम मेडिकल कजेल बंगलादेशमा एमबीबीएस पढिरहेकी छन् । उनी पुतलीसडकको न्यूप्लाजमा रहेको आधार एजुकेशन लिमिटेडबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश गएकी हुन् ।
साथै, उनले अन्तरवार्ताको क्रममा आफूले ३२ वर्षदेखि १ रुपैयाँ पनि नकमाएको बताएका छन् । उनले ३२ वर्षदेखि साथीभाइको सहयोगमा घरपरिवार चलिरहेको समेत दाबी गरेका छन् । तर, उनकी छोरी झरना भने बंगलादेशमा ४१ हजार अमेरिकी डलर शुल्क तिरेर एमबीबीएसको कोर्श गरिरहेकी छन् । उक्त ४१ हजार अमेरिकी डलरका आजको दिनमा नेपाली रुपैयाँ लगभग ५८ लाख हुन्छ ।

‘स्वास्नी छोराछोरीलाई कसरी पालेको छ त ? पाल्ने त पैसाले हो नि ? त्यो पनि जान्न चाहने हो भने मैले पहिलादेखि नै भनिराखेको छु– मेरा केही यस्ता साथीहरु छन्, जसले मलाई धेरै माया गर्छन् । मलाई पनि त खर्च चाहियो त ? ३२ वर्ष भयो, ३२ वर्षमा मैले एक रुपैयाँ कमाएको छैन त । साथीभाइ छन्, माया गर्छन्, पुर्याइदिएका छन् त । भगवानले पुर्याइदिएका छन् भनौं न,’– उनले भनेका छन् ।
अन्तर्वार्ताको ५३ मिनेट ५० सेकेन्डमा उनले आफ्नो परिवारबारेमा भनेका छन् । उनले भनेको कुरा रिपोर्टर्स नेपालले प्राप्त गरेको प्रमाणले खण्डण गरेको छ ।




प्रतिक्रिया