काठमाडौं, ११ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्न सक्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टहरु जुनसुकै दलका नेताहरु भए पनि नछाड्न वर्तमान सरकारलाई जनताको म्याण्डेट रहेको बताएका हुन् ।
‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । जस्तोसुकै चुनौति आओस् । ऋषि धमलामाथि थ्रेट आए पनि ब्याक हुँदैन । भ्रष्टाचारीलाई कारबाही हुनैपर्छ । भ्रष्टहरु जुनसुकै पार्टीको ठूलो नेता किन नहोस्, छोड्न पाइँदैन अब । जनताको म्यान्डेट हो,’– उनले भने ।
साथै, धमलाले सरकारले जेन–जी पुस्ताको माग सम्बोधन गर्नुपर्ने बताए । उनले जेन–जीहरुलाई गिरफ्तार गर्ने र दुःख दिने काम नगर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जेन–जी पुस्ताको मागलाई सम्बोधन गर्नुपर्छ । अब उनीहरुलाई समात्ने होइन, गिरफ्तार गर्ने होइन । गिरफ्तार गर्न पाइँदैन, समात्न पाइँदैन, दुःख दिन पाइँदैन । गृहमन्त्री ओमप्रकाश अर्याललाई भन्न चाहन्छु म– जेन–जीलाई दुःख नदिनुस्, धरपकड नगर्नुस् । उनीहरुले परिवर्तन गरेको हो । समाजलाई रुपान्तरण गरेको हो । त्यो पुस्तालाई अब संगै लिएर हिँड्ने हो ।’
उनले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार संसद्बाट नभएर जेन–जी विद्रोहमार्फत जनताले बनाएको बताए । जनमतभन्दा शक्तिशाली अर्को केही पनि नहुने बताउँदै उनले पार्टीका कुरा छाडेर जनताको भलाइमा काम गर्न सुझाव दिए ।




प्रतिक्रिया