वेस्ट इन्डिजविरुद्ध जितमा प्रचण्डको बधाई


काठमाडौं, असोज १२ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई दिएका छन्। नेपालले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई पराजित गरेपछि उनले बधाई दिएका हुन् ।

फेसबुकमार्फत् बधाई दिदै उनले लेखेका छन्, “यो सफलताले नेपाली युवाशक्ति– उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ।”

उनले टोलीले आगामी खेलहरूमा पनि अझ उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरवान्वित पार्ने विश्वास व्यक्त गरेका छन्। संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो । नेपाल र वेष्ट इण्डिजसँग दोस्रो खेल यही असोज १३ गते हुनेछ ।