थलापति विजयको चुनावी र्‍यालीमा भागदौड, ३९ जनाको निधन


काठमाडौं, १२ असोज । भारतको तमिलनाडु राज्यको करूरमा शनिबार साँझ आयोजित चुनावी भेलामा भागदौड मच्चिँदा ३९ जनाले ज्यान गुमाएका छन् । अभिनेता थलापति विजयको चुनावी र्‍यालीमा भागदौड मच्चिदा ३९ जनाको निधन भएको हो । ज्यान गुमाउनेमा महिला, वृद्ध र बालबालिकाका बढी रहेका छन्। भागदौडमा घाइते भएका ५१ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

तमिलनाडु प्रहरीका अनुसार विजयको र्‍यालीमा १० हजार मानिसहरूलाई अनुमति दिइएको थियो। यद्यपि, १,२०,००० वर्ग फिट क्षेत्रमा ५० हजारभन्दा बढी मानिसहरू भेला भएका थिए। अभिनेता छ घण्टा ढिलो आइपुगे। विजयलाई ९ वर्षीया बालिका हराएको जानकारी दिइयो। उनले मञ्चबाट बालिकालाई खोज्न अपील गरेपछि भागदौड मच्चिएको थियो। केही सञ्चार माध्ययमहरुले सभामा अचानक विद्युत् आपूर्ति बन्द भएपछि भागदौड मच्चिएको उल्लेख गरेका छन् ।