संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब राजालाई स्पेस दिनुपर्छ : धवल शम्शेर


काठमाडौं, असोज १२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शम्शेर राणाले संघीयता र गणतन्त्र खारेज गरे देशलाई हिन्दुराज्य घोषणा गरिनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण हुने नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वर्तमान सरकारले जेन-जीले उठाएका जायज माग सम्बोधन गर्न नसक्ने दाबी गर्दै देशलाई राजासहितको सनातन हिन्दु राज्य घोषणा गरिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिलेको समयमा सबै पार्टीहरु मिलेर राजालाई स्थान दिनुपर्छ । देशमा पुनः संवैधानिक राजतन्त्र स्थापित गर्नुपर्छ । अहिलेको व्यवस्था परिर्वतनको लागि देशलाई कुशल अभिभावको खाँचो रहेकाले संघीयता र गणतन्त्र खारेज गरेर हिन्दु अघिराज्य घोषणा गरेर राजालाई अभिभावक बनाउनुपर्छ ।’

असफल गणतन्त्र र संरचनालाई फालेर नेपाली जनताले राजासहितको प्रजातन्त्र, सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य ल्याउनुपर्ने उनको भनाई छ । पछिल्लो ४० वर्षदेखि तीन जना नेताले देशलाई अस्तिरतामा धकेलेको बताउँदै उनले राष्ट्रपतिले दलको नेता तथा कार्यकर्ता जस्तो खेल खेल्दै आएकाले पछिल्लो अवस्था जनाए । देशलाई सुधारको मार्गमा लैजान निर्वाचन प्रणालीमा समेत सुधार गर्न आवश्यक रहेको उनको भनाई छ ।

सुशीला कार्की नेतृत्वको सरकार धेरै दिन नटिक्ने दाबी गर्दै उनले वर्तमान सरकारसँग जेनजीले उठाएका जायज माग सम्बोधन गर्ने क्षमता नरहेको समेत जिकिर गरे ।

उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकारले जेनजीको माग पुरा गर्न सक्ने अवस्था देखिदैन् । जेनजीले संविधान खारेज गरेर मात्रै सम्बोधन हुन सक्ने माग अघि सारेको छ । तर, यही संविधानमा टेकेर सरकार अघि बढ्दा जेनजीका माग परिपूर्ती हुने सम्भावना न्यून देखिन्छ । संविधान भित्र बस्छु पनि भन्ने अनि संविधान बाहिरका माग अघि सारेर देशले निकास पाउँदैन् ।’

अहिलेको व्यवस्था र गणतन्त्रप्रति जनता खुसी नरहेको र भ्रष्ट्राचारी नेता र प्रर्दशनका क्रममा युवामाथी गोली हान्न आदेश दिने नेतालाई जेल हाल्न वर्तमान संविधान बाधक रहेको उनको भनाई छ ।

‘नेपाली जनताले देशमा परिवर्तन चाहिन्छ, सयकडौँ राजा भन्दा एउटा राजा, संवैधानिक राजा, नेपाली जनताका छोराछोरीले राजनीति गर्ने, संविधानभित्र रहेर बस्ने राजाको कल्पना नेपाली जनताले गरिरहेको छ ।’ उनले भने,

निर्वाचनले मात्रै जेनजी आन्दोलनको क्षति परिपुर्ती नहुने बताउँदै उनले निर्वाचनबाट पुरानै अनुसारलाई सत्तामा ल्याए आन्दोलनमा ज्यान गुमाएको आत्माले सराप्ने र देश शून्यमा जाने उनले बताए ।

केही समस्याहरु वर्तमान संविधानले समाधान गरेपनि अहिलेको संविधानलाई संसोधन नगरे वा अन्तरिम संविधान नल्याएसम्म जेनजीको माग अनुसार देशले पत्यक्ष निर्वाचित कार्यकारी नपाउने उनको भनाई छ । संविधानबाट नभई आन्दोलनको जगमा गठन भएको वर्तमान सरकारलाई संघीयता खारेज गर्न र भ्रष्ट्रचारी नेतालाई जेल हाल्न एमाले, काँग्रेस, माओवादी र राप्रपा कसैले नरोकेकाले भ्रष्ट्राचारीलाई छानीछानी जेल कोचेर देखाउन वर्तमान सरकारलाई उनले चुनौती दिए ।