स्वार्थ र विभाजनकारी प्रवृत्तिले युवाको सपना र बलिदान बिगार्ने खतरा : नेता शर्मा


काठमाडौं, असोज १२ । नेपाली काँग्रेसका नेता सुनिल कुमार शर्माले जनताको विश्वास, युवाहरूको सपना र बलिदानले जन्माएको लोकतन्त्र माथि खेलवाड गर्ने छुट कसैलाई पनि नरहेको बताएका छन् । केही स्वार्थी तत्वहरू हाम्रो गौरवमय इतिहास र वीरहरूको बलिदानलाई कलंकित गर्ने प्रयासमा लागेको बताउँदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत न्यायमा आधारित समाज, समान अवसरमा टेकेर अघि बढ्ने शासन व्यवस्था र लोकतन्त्र माथि कसैले खेलवाड गर्ने चेष्टा नगर्न आग्रह गरेका छन् ।

राजनीतिक यात्रामा अब आत्मालोचना र आत्मसुधारलाई अनिवार्य आधार बनाइने बताउँदै उनले लोकतन्त्रको जगमा निर्माण भएको समाज, हाम्रो देशको विगतलाई असावधानी, स्वार्थ, र विभाजनकारी प्रवृत्तिले बिगार्ने खतरा रहेको जनाएका छन् ।

पछिल्ल्ला वर्षहरूमा जनताले अपेक्षा गरेको आशाभन्दा बढी निराशा अनुभव गर्नुपरेको बताउँदै नेता शर्माले नेपाली काँग्रेसले यथार्थलाई लुकाउने प्रयास नगरेर बरु आत्मसमीक्षाको साहसका साथ सम्पूर्ण नेपाली जनसमुदाय सामु विनम्रतापूर्वक क्षमा याचना मागेर सत्यप्रतिको निष्ठा र आत्मालोचनाको इमानदार प्रमाण दिने बताएका छन् ।

“संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्।
देवा भागं यथा पूर्वे संजानाना उपासते॥” (ऋग्वेद १०.१९१.२)

(अर्थ : आउनुहोस्, हामी सबै मिलेर अघि बढौँ, सहकार्य र समन्वयमा बसौँ, हाम्रो मन एउटै साझा लक्ष्यतर्फ अभिमुख बनोस्।
जसरी विगतका महर्षि र देवगणले एकताको बलमा धर्मकर्म पूरा गरे, त्यसरी नै हामी नेपालीहरूले पनि ऐक्यबद्ध भएर राष्ट्रको कल्याणतर्फ लाग्नुपर्छ।)

प्रिय नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
लोकतन्त्रको जगमा निर्माण भएको हाम्रो समाज, हाम्रो देश विगतका केही चुनौती, गल्ती र कमी कमजोरीका कारण विचलित भएको सत्य हामी सबैलाई थाहा छ। इतिहास साक्षी छ, राजनीति भनेको मानव सेवाको माध्यम हो, समर्पण र त्यागको पवित्र साधना हो। तर विडम्बना के छ भने, असावधानी, स्वार्थ, र विभाजनकारी प्रवृत्तिहरूले यस माध्यमलाई बिगार्ने खतरा सधैँ रही रहन्छ। हाम्रो पार्टी पनि यस यथार्थबाट अछुतो रहेन।पछिल्ल्ला वर्षहरूमा जनताले अपेक्षा गरेको आशाभन्दा बढी निराशा अनुभव गर्नुपर्‍यो।

हामी यो यथार्थलाई लुकाउने प्रयास गर्दैनौँ। बरु आत्मसमीक्षाको साहसका साथ सम्पूर्ण नेपाली जनसमुदाय सामु विनम्रतापूर्वक क्षमा याचना गर्दछौँ। किनभने क्षमा माग्नु कमजोरी होइन; यो त सत्यप्रतिको निष्ठा र आत्मालोचनाको इमानदार प्रमाण हो। हामी स्पष्ट रुपमा प्रतिज्ञा गर्दछौँ, अब गल्ती दोहोर्‍याउने छैनौँ, भ्रष्टाचार, अन्याय र अनियमितताका विरुद्ध दृढताका साथ कदम चाल्नेछौँ, र जनताको विश्वास पुनः जित्नेछौँ।

केही नेताको भ्रष्ट आचरण वा व्यक्तिगत स्वार्थका कारण पूरै संस्था र इमान्दार नेताहरू दोषी ठहरिनु न्यायसंगत हुँदैन। जसले कहिल्यै भ्रष्टाचार गरेनन्, जसले जनताको विश्वासलाई कहिल्यै धोका दिएनन्, ती व्यक्तिहरूलाई अरूको पापको बोझ थोपर्न हुदैन। राजनीति केवल आरोप र दोषको थलो होइन; राजनीति त्याग, सेवा, इमान्दारी र आदर्शको बाटो पनि हो। यस कारण, हामी सबै इमान्दार नेताहरू, कार्यकर्ताहरू र आम नेपाली नागरिकहरूको आत्मसम्मान सुरक्षित गर्न प्रतिबद्ध छौँ।

हाम्रो पार्टीका मात्र होइन, अन्य पार्टीका समेत केही माथिल्ला नेता र उहाँहरूको परिवारका सदस्यहरूले सत्ता र राज्य सत्ता आफ्नो हातमा लिएर, देशलाई लुट्ने, अपारदर्शी निर्णय गर्ने र राष्ट्रिय हितभन्दा व्यक्तिगत स्वार्थलाई अगाडि राख्ने कार्य गरेकै कारण आज मुलुक यस्तो कठिन परिस्थितिमा पुगेको छ। यो कठोर सत्यलाई हामी आत्मसमीक्षासहित स्वीकार गर्दछौँ। तर अब यस्ता प्रवृत्ति दोहोरिन दिने छैनौँ। गलतलाई मिलेर ढाकछोप गर्ने होइन, सत्य र न्यायलाई समर्थन गर्ने हाम्रो दृढ प्रतिवद्धता रहने छ।

महान् मानव बी.पी. कोईराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोईराला लगायतका ऐतिहासिक नेताहरूले देखाएको सपना अधुरो हुन दिने छैनौँ। हामीहरूले यो कहिल्यै बिर्सन हुँदैन की उहाँहरूको अद्वितीय त्याग, अमूल्य बलिदान र लोकतन्त्रप्रतिको अटूट विश्वासले नै नेपाललाई यो स्थानमा पुर्‍याएको हो।

बी.पी. कोईरालाको दृष्टिमा लोकतन्त्र केवल शासन प्रणाली मात्र थिएन, बरु जनताको आत्मसम्मान र स्वतन्त्रताको प्रतिविम्ब थियो। कृष्णप्रसाद भट्टराईको सरलता र इमान्दारीताले राजनीति जनसेवाको पवित्र माध्यम हुनुपर्छ भन्ने सन्देश दियो। कृष्णप्रसाद कोईराला जस्ता योद्धाहरूले राणा शासनजस्तो निर्दयी अत्याचारविरुद्ध प्रजातन्त्र र जनताको अधिकारका लागि आफ्नो जीवन अर्पण गरे। गणेशमान सिंहको जीवनभरको संघर्षले बलिदानको साँचो अर्थ देखायो। गिरिजाप्रसाद कोईरालाले कठिनतम परिस्थितिमा समेत लोकतन्त्रलाई जीवन्त र दृढ बनाए।

तर आज केही स्वार्थी तत्वहरूले हाम्रो गौरवमय इतिहास र वीरहरूको बलिदानलाई कलंकित गर्ने प्रयास गरिरहेका छन्। यस्तो समयमा हामी सबैको पहिलो दायित्व हो, आफ्नो शिर पुनः गर्वका साथ उठाउने। जनताको विश्वास, युवाहरूको सपना र बलिदानले जन्माएको लोकतन्त्र माथि खेलवाड गर्ने छुट कसैलाई पनि छैन। न्यायमा आधारित समाज, समान अवसरमा टेकेर अघि बढ्ने शासन व्यवस्था, र समृद्ध नेपाल बनाउने हाम्रा अग्रजहरूको सपना अझै अधुरो छ। यही ऐतिहासिक जिम्मेवारी पूरा गर्न हामी दृढ संकल्पका साथ अघि बढ्नेछौँ। हामी धैर्य, संयमता र पारदर्शिताको बाटोमा हिँड्दै, पुस्तान्तरण र रुपान्तरणको नवीनतम जोशसहित नेपाली कांग्रेसलाई पुनःसंगठित गर्नेछौँ।

हाम्रो राजनीतिक यात्रामा अब आत्मालोचना र आत्मसुधारलाई अनिवार्य आधार बनाइनेछ। हाम्रो लक्ष्य केवल पार्टीको पुनर्जीवन मात्र होइन, हामी न्यायमा आधारित समाजको निर्माण, समान अवसरमा आधारित अर्थतन्त्रको स्थापना, र विश्वसामु गर्वका साथ टाउको उचालेर उभिन सक्ने सम्मुनत नेपाल निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्नेछौँ। हाम्रो राजनीतिक यात्रामा अब आत्मालोचना र आत्मसुधारलाई अनिवार्य आधार बनाइनेछ। हाम्रो लक्ष्य केवल पार्टीको पुनर्जीवन मात्र होइन; हाम्रो लक्ष्य न्यायमा आधारित समाजको निर्माण, समान अवसरमा अडिएको अर्थतन्त्रको स्थापना, र विश्वसमक्ष टाउको उचाली गर्वपूर्वक उभिन सक्ने समृद्ध नेपाल निर्माण गर्नु हो।

दशैँको शुभकामना
नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना अर्पण गर्दछु । यो पर्वले हाम्रो जीवनमा आशा, विश्वास, ऐक्यबद्धता र राष्ट्रिय गौरवको भावना अझ प्रगाढ बनाओस्।
नेपालको पुनर्निर्माण, समृद्धि र गौरवशाली भविष्यमा हामी सबै मिलेर अघि बढ्न सकौँ।
जय नेपाल!
डा. सुनिल कुमार शर्मा
महासमिति सदस्य
नेपाली कांग्रेस